सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको गहनान र वासुधारामा स्नान गर्नेको घुइँचो, कोरोनालाई चुनौती

२०७८ माघ १, ०३:१९ खबर संवाददाता

डोटीः दिपायल सिलगढी नगरपालिका–३ स्थित वासुधारा तथा शिखर नगरपालिका–१० बानीडुग्रीसैन स्थित गहनानमा स्नान गर्नेको भीड लागेको छ। माघी पर्वका अवसरमा यहाँका प्रसिद्ध तीर्थस्थलका रुपमा मानिँदै आएको यी दुवै स्थानमा बिहानैदेखि स्नान गर्नेको भीड लागेको हो। यो तीर्थस्थलमा स्नान गर्दा पुण्य हुने विश्वासका साथ भक्तजनले आज बिहानै त्यहाँ पुगेर नुहाउने गर्छन्। 

मकर सङ्क्रान्तिका दिन यहाँ स्नान गरेमा  पुण्य प्राप्त हुने धार्मिक मान्यताअनुसार बिहानैदेखि भक्तजन तथा तीर्थालुको भीड लागेको बानीडुग्रीसैनका स्थानीयवासी प्रेमबहादुर बलायरले बताए। उनले भने, “माघ महिना धार्मिक महिनाका रुपमा चिनिन्छ, यहाँका गहनान र वासुधारामा नुहाए सबै पाप नास हुने र पुण्य प्राप्ति हुने भन्ने विश्वासले भक्तजन बिहान ४ बजेदेखि नुहाउन र पूजापाठका लागि लाइनमा लागेका छन्, यसले यहाँको वातावरण निकै रमणीय बनेको छ।” गहनानमेलामा छिमेकी जिल्ला डडेल्धुरा, बैतडीको ढुङ्गाढक्षेत्रबाट पनि भक्तजन आउने गरेका उनको भनाइ छ। 

यसैगरी दिपायलस्थित वासुधारामा जिल्लाभित्रका भक्तजनसहित छिमेकी जिल्ला अछामबाट पनि भक्तजन नुहाउन आउने गरेको दिपालय विमानस्थलका स्थानीयवासी मोहन पनेरुले बताए। उनले भने, “वासुधाराको पानी (जल) पवित्र हुने तथा कुनै पनि धार्मिक कार्य गर्दा उक्त जल प्रयोग गरिए शुद्ध हुन्छ भन्ने मान्यताका कारण यहाँ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ।” छिमेकी जिल्लाबाट पनि आजका दिन स्नान गर्न यहाँ भक्तजन आउने गदर्छन्। स्नान तथा जल लैजान आएका भक्तजनको आज यहाँ ठूलो भीड लागेको उनको भनाइ छ। 

यसैगरी जिल्लाभरीमा आज माघ १ गते, चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर माघे सङ्क्रान्ति पर्व मनाइँदैछ। हरेक वर्ष माघे सङ्क्रान्तिलाई डोटीसहित समग्र सुदूरपश्चिममा विशेषरुपमा मनाउने चलन छ। माघे सङ्क्रान्तिदेखि सूर्य धनुबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर सङ्क्रान्ति पनि भन्ने गरिएको दिपायलका स्थानीयवासी तथा पण्डित मेखराज भट्टले बताए। आजको दिन पवित्र नदी, तलाउ तथा त्रिवेणीमा स्नान गरी पूजाआजासँगै पोषिला खानेकुरा खाएर यो पर्व मनाउने गरिन्छ। कोरोना संक्रमण दर उकालो लागेका बेला सुदूरपश्चिमका विभिन्न क्षेत्रहरुमा कोरोनालाइ नै चुनौती दिदै स्थानीयहरुले पर्व मनाइरहेका छन्। यसबाट कोरोनाको संक्रमण झन बढ्न सक्ने सरोकारवालाहरु बताउँछन्। 

कमेन्ट लोड गर्नुस