सुदूर नेपाललाई विश्वसँग जोड्दै

परिवार पाल्न ज्यान हातमा राखेर मुग्लान पस्दै सुदूरपश्चिमेली

२०७८ माघ १, ११:१६ विन्दु चन्द

धनगढीः परिवारको पीडाले भरिएको झोला बोकेर त्रिनगर गौरीफन्टा सीमानाका पुगेका थिए बझाङको केदारस्युँ गाउँपालिका–३ का गोपाल ओखेडा। उनी रोजगारीका लागि भारत जान त्यहाँ पुगेका थिए। उनका साथमा गाउँले र आफन्तहरु थिए। उनलाई कोरोना बढ्दै छ भन्ने थाहा छ। तर उनलाई परिवारको जिम्मेवारीभन्दा ठूलो रोग होइन भन्ने पािन थाहा छ। उनलाई कोरोनाको चिन्ता भन्दा पनि लकडाउन हुने चिन्ता थियो। लकडाउन भए घरमा के गरेर गुजारा गर्ने भनेर उनी हतारहतारमा भारत पसिरहेका थिए। 

आर्थिक स्थिति कमजोर र खेतीपानी गर्न जमिन नहुँदा आफु भारत पसिरहेको उनले बताए। ‘ठूलो परिवार छ। केटाकेटी स्कुल जान्छन्। परिवारमा कमाउने अन्य कोही छैन। कोरोना छ भन्ने त थाहा छ। तर के गर्नु यो त बाध्यता हो’, उनले भने। उनी विगत २२ वर्षदेखि भारतमा काम गर्दै आएका छन्। गत बैशाखमा उनी घर फर्केका थिए। केही दिन ठिकठाकै बित्यो। तर फेरि कोरोना बढ्यो। लकडाउन भए के गर्ने के खाने चिन्ताले उनी फेरि भारत गइरहेका हुन्। 

उनीसँगै सोही ठाउँका सुन्दर ओखेडा पनि रोजगारीकै लागि भारत गइरहेका थिए। एसईई गरेर रोजगारीका लागि भारत गइरहेको उनले बताए। पढाई अगि बढाउने इच्छा भएपनि आर्थिक अवस्था कमजोर भएकै कारण आफूले विदेशिनुपर्ने बाध्यता आएको सुन्दरले दुखेसो गरे। ‘एसइई गरेको छुँ। अरु पढ्ने धोको छ तर के गर्नु कमाउने कोही छैन’ उनले भने।  गाउँमै सरकार भएपनि रोजगारी सिर्जना गर्न नसकेकाले दुःख लागेको उनले बताए। ‘देशकै अवस्था ठिक छैन भने यहाँ हाम्रो भविष्य बन्छ ?’ उनले प्रश्न गरे।

बालबच्चासहित पेट पाल्नकै लागि आफूहरु भारत जानुपरेको सोही ठाउँकी शान्ती विकले बताइन्। श्रीमानले मजदुरी गर्ने र आफुले सहयोग गर्ने गरेको उनी बताउँछिन्। उनीहरु जस्तै माहामारीकै अवस्थामा पनि दैनिक ५ सय बढी नेपालीहरु रोजगारीका लागि भारत पसिरहेको सीमा नाकाको तथ्यांक छ। देशमा रोजगारी नहुनु र गरिबीका कारण उनीहरु ज्यानको बाजी लगाएर कोरोनाको आहाल बनेकाे भारत पस्नु बाध्य छन्।
 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस