सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर एमालेमा ‘टकराब’, के हुन्छ अब ?

प्रदेश सहइन्चार्ज पुत्रलाइ ‘पहिलो गाँसमै ढुङगा’ 

२०७८ पुष ३०, ०४:३६ टेकसिंह धामी

धनगढीः कञ्चनपुरमा हालै नेकपा एमालेको अधिवेशन सम्पन्न भएको छ। कञ्चनपुर एमालेले आन्तरिक प्रतिस्पर्धामार्फत जिल्ला नेतृत्व चयन गरिसकेको छ। तर, नेतृत्व चयनका लागि भएको निर्वाचनपछि भने पार्टीमा टकराबको अवस्था देखिएको छ। पार्टीमा देखिएको टकराब र निर्वाचनको ‘साइड इफेक्ट’ केही दिनयता एमाले राजनीतिक वृत तथा सामाजिक सन्जालमा छरपस्ट भएको छ। 

पार्टीको प्रदेश र केन्द्रीय नेतृत्व सर्वसम्मत तरिकाले नै जिल्लामा नेतृत्व स्थापित गर्ने मनसायका साथ आन्तरिक सहमतिको कसरतमा थियो। केन्द्रीय तथा प्रदेश स्तरीय नेताहरुले आकांक्षीबीच सहमति गराउन निकै जोडबल लगाएका थिए। तर, नेताहरुको त्यो जोडबलले कञ्चनपुरमा फेल खायो। अन्तत सहमति हुन नसकेपछि जिल्ला नेतृत्वका लागि निर्वाचन भयो। निर्वाचनमा जाँदा अध्यक्षका दाबेदार थिए बीरबहादुर थापा (पातल) र सुरेन्द्र बिष्ट। उनीहरु दुबैले अडान नछाडेपछि चुनाव गरिएको थियो। चुनावमा बीरबहादुर थापा (पातल) ले पराजय भोगे र अध्यक्षका रुपमा उदाय, सुरेन्द्र बिष्ट। त्यसपछि सुरु भयो जित्ने र हार्ने पक्षहरुका बीचमा टकराव तथा आरोप–प्रत्यारोप।

निर्वाचनको मत परिणाम सार्वजनिक भए लगत्तै अध्यक्षका प्रत्यासी बीरबहादुर थापा (पातल) ले सामाजिक सञ्जालमार्फत रुष्टता प्रकट गरेका थिए। उनले फेसबुकमा लामै स्टाट्स गुटबन्दी गरेको र आफ्ना बारेमा कुप्रचार गरेको आरोप लगाएका छन्। ‘पहिलेदेखि नै हाम्रो बारेमा निकटका मिडिया लगाएर चरित्र हत्या हुने किसिमले कुप्रचार गरियो,’ उनले दिनेशखबरसँग भने, ‘मिडियामा भ्रमपूर्ण समाचार प्रेषित गरिए। निर्वाचन सकिएपछि परिणाम घोषणा गरेपछि राति पार्टी कार्यालयमै नारावाजी भएको पनि सुने। पूर्व माओवादी र १० बुँदे भनेर पार्टीमा गुटबन्दी गरियो।’

पार्टीको आन्तरिक निर्वाचनमा बाह्य पक्षले खेलेकोले यस्तो परिणाम आएको उनको दाबी छ। अब पार्टीलाई एकतावद्ध गरेर जानुपर्ने उनको भनाई छ। ‘पार्टीभित्र सहकार्यको विकल्प छैन। पूर्वाग्रह राखेर गए त्यसको परिणाम नराम्रो आउँछ,’ उनले भने। निर्वाचनको परिणाम सार्वजनिक भएपछि पूर्व माओवादी र १० बुँदेका पक्षधरहरुका विरुद्ध नारा लगाइएको थियो। पातलले माओवादी एकता प्रक्रियाबाट एमालेमा प्रवेश गरेका थिए। उनी सुरेन्द्र बिष्टसँग ९८ मतले अध्यक्षमा पराजित भएका थिए। बिष्टले २८१ मत पाएका थिए भने थापाले १८३ मत पाएका थिए।

एमाले प्रदेश सहइन्चार्ज पुत्रलाइ ‘पहिलो गाँसमै ढुङगा’ 

एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज राजेन्द्र रावललाई पनि एमाले कञ्चनपुरको निर्वाचनले नराम्रोसँग झट्का दिएको छ। रावलका छोरा नितेश रावलले जिल्ला कमिटी सदस्यमा पराजय भोगेपछि उनलाइ झट्का लागेको हो। सुदूरपश्चिममा एमालेका शीर्ष नेतामा पर्ने रावलले छोरा नितेशलाई पनि सक्रिय राजनीतिमा इन्ट्री गराउन चाहेका थिए। तर, नितेशलाई राजनीतिमा ‘पहिलो गाँसमै ढुङगा’ जस्तो भएको छ।

एमाले सचिव लेखराज भट्टले उम्मेदवार बनाएका पातल पराजित भएपछि उनलाई पनि झट्का लागेको छ।

टेकसिंह धामी, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस