दार्चुला पुगेर दिलेन्द्र बडूले भनेः भारतले लिपुलेक हुँदै बाटो खनेको मैले पनि सुनेँ
धनगढीः कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले नेपाली भूमि लिपुलेक हुँदै भारतले सडक खनिरहेको समाचार आफूले पनि सुनेको बताएका छन्। प्रेस युनियन दार्चुलाले बिहीबार सदरमुकाम खलङ्गामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। ‘नरेन्द्र मोदीज्यूले मानसरोवर जाने बाटो लिपुलेकमा बनाएको भन्ने सुनियो, यसमा मानसरोवर यात्राको प्रसंग जोडिएको छु, उनले भने, 'प्रसंग जे भए पनि त्यो हाम्रो भूमि हो।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुस १५ गते उत्तराखण्डको नैनीतालस्थित हल्द्वानी शहरमा आयोजित कार्यक्रममा लिपुलेकमा भारत सरकारले सडक बिस्तार गरिरहेको अभिव्यक्ति दिएका थिए। यसबारेमा नेपाल सरकारले आधिकारिक धारणा सार्वजनिक नगरेको अवस्थामा बडूले यसो भनेका हुन्। भारतीय सेनाको सडक निर्माण कम्पनी सीमा सडक संगठन (बीआरओ) ले कालापानीमा सडक कालोपत्रे गरिरहेको छ। नोभेम्बर २८ अर्थात् मंसिर १२ गतेदेखि अतिक्रमित नेपाली भूमिमा गुञ्जीमा सडक कालोपत्रे भइरहेको छ।
अतिक्रमित नेपाली भूमिमा पर्ने गुञ्जी र नाभी गाउँ जोड्ने सडकखण्डमा प्रथम चरणमा कालोपत्रे गरिन लागिँदैछ। अतिक्रमित नेपाली भूमिमा गुञ्जीदेखि कालापानी हुँदै नाभीढाँगसम्म २२ किलोमिटर सडक लिपुखोलाको किनारैकिनार बनाइएको छ। लिपुलेक भञ्ज्याङबाट कालापानी हुँदै बग्ने लिपुखोला गुञ्जी दोभानमा वास्तविक महाकाली (कुटी नदी) मा मिसिन्छ। भारतले आफैंले निर्धारण गरेको नक्कली महाकाली (लिपुखोला) को सीमा समेत मिचेर कालापानीमा लिपुखोलाभन्दा पूर्व समेत अतिक्रमण गरी सुरक्षा क्याम्प राखेको छ।