सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्यान जोगाउन फेरि स्वदेश, तर नाकाबाटै कोरोना फैलिने डर

२०७८ पुष २८, ०५:५३ विन्दु चन्द

धनगढी: अहिले भारतका विभिन्न सहरबाट हरेक दिन डेढ हजारको हाराहारीमा नेपाली स्वदेश फर्किरहेका छन्। रोजगारीका लागि केही महिनाअघि मात्रै भारत गएका सुदूरपश्चिमेलीहरु त्यहाँ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि फेरि घर फर्किरहेका हुन्।  परिवारको खर्च जुटाउने उद्देश्यले भारत गएकोमा कोरोना बढेपछि एक महिनामै घर फर्किनुपरेको त्रिनगर गौरीफन्टा नाकामा भेटिएका कैलालीका भरत बुढाले बताए। उनले भने, ‘गएको डेढ महिना जति मात्रै भएको थियो। होटलमा काम गर्दै थियौँ। कोरोना आएपछि त्यहाँ राति कफ्र्यु लागेको छ। कोरोना बढ्न थालेपछि दुःख पाउनुभन्दा घर फर्केका हौं’

भारत जानेहरुमध्ये अधिकांश परिवारसहित गएका थिए। तर फेरि ज्यान जोगाउन परिवार लिएर स्वदेश फर्केको कैलालीका धीर चौधरी बताउँछन्। ‘सानो बच्चा छ। श्रीमती पनि सँगै लगेको। काम ठिकठाकै थियो। तर सबै बन्द हुन्छ भनेर सबै फर्किदैछन्’ उनले भने।  भारतबाट फर्किने बढ्न थालेपछि सीमा नाका अस्तव्यस्त देखिन थालेका छन्। जसका कारण नाकाबाटै कोरोना फैलिने खतरा बढेको छ। त्यहाँ अहिले ठेलाठेल गरेर कोरोना जाँच भइरहेको छ। कतिपयले त मास्क समेत प्रयोग गरेको देखिँदैन। बाटोमा आउँदा सुरक्षित भएर आएको भएपनि सीमाबाट खतरा हुने डर बढेको गुनासो समेत गरिएको छ। 

बाटोमा सुरक्षित भएर आएपनि सीमाबाट कोरोनाको जोखिम बढेको टिकापुरका चन्द्र साउँदले बताए। सीमामा उचित व्यवस्थापन नहुँदा कोरोनाको जोखिम बढेको उनले गुनासो गरे। ‘यहाँ भेडाबाख्रा राखे जस्तै राखिएको छ। न सामाजिक दूरी छ, न मास्क नै प्रयोग गरिएको छ। व्यवस्थापनमा लापरबाही छ। बिरामी नभएका मान्छे पनि सीमाबाट बिरामी भएर जानुपर्ने अवस्था छ’, उनले भने।

सीमा नाकामा एन्टिजेन परीक्षणको व्यवस्था मिलाइएको छ। तर भारतबाट स्वदेश फर्किने सबैको परीक्षण भने हुन सकेको छैन। जसका कारण फेरि समुदाय स्तरमै संक्रमण फैलिने जोखिम बढेको छ। सुदूरपश्चिमको गड्डाचौकी, गौरीफन्टा र झुलाघाट लगायतका नाका भएर एक सातामा ९ हजार ८ सय ३३ नेपाली स्वदेश फर्किएका छन्। उनीहरुमध्ये ८ हजार ७ सय ३० जनाको एन्टिजेन परीक्षण भएको छ भने, बाँकी १ हजार १ सय ३ जना परीक्षणबिना घर फर्केका छन्। परीक्षण भएकामध्ये झण्डै ६ सय जनामा संक्रमण पुष्टि भएको छ।

हेल्थ डेस्कको घेरामा आएका सबैलाई चेकजाँच गरिरहेको त्रिनगर–गौरीफन्टा हेल्थ डेस्कका इञ्चार्ज गणेश साउँदले बताए। उनका अनुसार प्रत्येक दिन ८ सय बढीको कोरोना जाँच भइरहेको छ। जसमा ७० जना बढीमा कोरोना पुष्टि भइरहेको छ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस