दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा
दार्चुलाका सबै स्थानीय तहमा बैंकिङ सेवा पुगेको छ। सबै स्थानीय तहमा अत्यावश्यक बैंकिङ सेवा पुगेपछि नागरिकलाई सहज हुने भएको हो। ९ वटा स्थानीय तह रहेको दार्चुलाको अपीहिमाल गाउँपालिका र व्यास गाउँपालिकामा माछापुच्छे« बैंकको शाखा स्थापना भएपछि सबै तहमा बैकिङ सेवा पुगेको हो।
सबैभन्दा विकट रहेका यी दुवै गाउँपालिकामा बैंकले हेलिकप्टरमार्फत सामान ढुवानी गरेपछि बैंक स्थापना भएको हो। अपीहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालका अनुसार स्थानीय तहमा बैंकको सेवा नहुँदा कार्यालय तथा सर्वसाधारणले सास्ती व्योहोर्नुपरेको र अब भने समस्या सबै समाधान हुने बताए।
स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि बैंक स्थापना गर्न सकेका छौ, उनले भने, विगतमा स्थानीयले योजनाको भुक्तानी जिल्ला सदरमुकाम पुगेर लिनुपर्ने बाध्यता थियो, उनले भने, शिक्षक तथा कर्मचारीलेसमेत सदरमुकाम पुगेर मात्रै तलब लिने गरेका थिए। अब गाउँमै बैंक स्थापनापछि स्थानीय तहलाई सहज हुने भएको छ।
बैंकले यहि पुस २९ गतेबाट नियमित कारोबार शुरु गर्ने माछापुछ्रे बैंक खण्डेश्वरी शाखा प्रमुख नविन रोकायाले जानकारी दिए। सबै तयारी पूरा भएको छ। कर्मचारी बैंकमा केहि कम पुगेको कारण केहि ढिलाई भएको छ।
गाउँपालिकाले प्रक्रिया मिलाएर स्थानीय तहका सबै काम माछापुछ्रे बैंकबाटै गर्ने गरी तयारी गरेको छ । सम्भव भएसम्म सामाजिक सुरक्षा भत्तासमेत सोही बैंकबाट प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ। गाउँकार्यपालिका बैठकले गाउँपालिकाको हरेक क्रियाकलाप सोहि बैंकबाट गर्ने गरी निर्णय गरेको गाउँपालिकाले जनाएको छ।
व्यास गाउँपालिकाको सुनसेरामा स्थापना भएको माछापुछ्रे बैंकले पनि केहि दिनभित्रै सेवा सुचारु गर्ने तयारी गरेको वडा नम्बर ३ का वडाअध्यक्ष उपेन्द्रसिह धामीले बताए। गाउँपालिकाले यहि पुस २९ गते गाउँसभाकै दिन बैंकको औपचारिक उद्घाटन गर्ने तयारी थालिएको छ। बैंकको लागि चाहिने इन्टरनेट शिखर नेटले जडान सम्पन्न गरेको छ।
यसअघि दार्चुलाको महाकाली नगरपालिका र शैल्यशिखर नगरपालिकामा मात्र बैंक स्थापना भएका थिए। गत वर्षबाट मार्मा, नौगाड, मालिकार्जुन, लेकम र दुहुँ गाउँपालिकामामा नीजि क्षेत्रका बैंकहरु स्थापना भएका छन्।
स्थानीय स्तरमै बैंकिङ सेवा शुरु हुँदा स्थानीयवासीलाई ठूलो राहत मिल्ने छ। स्थानीय तहमा बैंकिङ सेवा नहुँदा विकास निर्माणका योजनाको भुक्तानी खाता सञ्चालन र रकम ओसार पसारमा जोखिम थियो। साना तिना योजनाको लागि भुक्तानी लिन सदरमुकाम आउनुपर्दा नागरिकले सास्ती खेप्नुपरेको थियो। गाउँमै बैंक शाखा खुलेपछि सबै किसिमका झण्जटबाट मुक्त हुने नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिह धामीले बताए।
खासगरी दार्चुलाको अपी हिमाल र व्यास गाउँपालिकामा बैंक खुलेपछि व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई समेत राहत हुने भएको छ। व्यापारको दृष्टिकोणले व्यास र अपी हिमाल प्रख्यात छ। बहूमूल्य जडिबुटी यार्सागुम्बालगायत सयौ प्रकारका जडिबुटीको व्यापार यहि स्थानीय तहमा हुने गरेको छ। विगतमा व्यापारीहरुले खलंगाबाट जोखिम मोलेरै गाउँमा रुपैयाँ बोक्नुपर्ने बाध्यता थियो।