सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा हत्या गर्नेलाई कसले पठाउँछ भारत ?

२०७८ पुष २४, ०५:१५ रोशन भट्ट

कुरा केही दिन अगाडिको हो। म दैनिकजसो आफ्नो काम(ड्युटी) सकेर कोठा जाने क्रममा थिए। मेरो ड्युटी साँझ ७ बजे सकिन्छ। त्यो दिन कार्यालयबाट कोठा जाने क्रममा एक जना दाइको फोन आयो। ‘के हो यार भाइ तिम्रो पारा, दाइलाई कहिलै पनि नसम्झिने’ फोनमा दाइले गरेको प्रश्न। मैले पनि यताबाट भने, ‘भन्नु न दाइ तपाईका लागि मैले के गर्नुपर्‍यो।’ यति कुरा भएपछि दाइले मलाई धनगढीकै एलएन चोकमा बोलाए। हाम्रो भेटपछि एक होटेलका बसेर कुरा गर्ने निर्णय भयो। अहिले फोटो पत्रकार महासंघ कैलालीको अधिवेशन पनि नजिकिएका कारण केही महत्वपूर्ण कुरा गर्नुपर्ने पनि थियो। 

त्यसपछि हामी दाईभाई एक होटलमा गयौं। मलाई त्यो होटेलको माछाको सुप अति नै मनपर्ने गर्छ। मैले माछा खान्छु भन्दै अर्डर गरे। दाइले पनि आफुले खाने चिज मगाएर खान सुरु गर्नुभयो। हाम्रो खानपिन सँगै कुराकानी पनि सुरु भयो। हामी बसेको टेबल नजिकै अर्को टेबलमा पनि एक जना बसेका थिए। तिनी हो हुन् ? घर कता हो ? यी प्रश्नको जबाफ म सँगै छैन। तर उनको कुराबाट ती व्यक्ति जनप्रतिनिधि हुन् भन्नेसम्म ठम्याउन सकिन्थ्यो। सुदूरपश्चिमको कुनै एक वडाको जिम्मेवारी उनको हातमा छ। त्यो कुरा उनकै फोन गफबाट थाहा भयो। 

हाम्रो नजिकै बसेका ती व्यक्तिले फोनमा चर्को स्वरले कुरा गर्न थालेपछि हामी अलि मौन भएर सुन्न थाल्याै‌। तिनीले अलि लामै बेरसम्म कुराकानी गरे। तिनको कुरा अहिले आफु वडाध्यक्ष भएको र अब हुने चुनावमा मेयर लड्नेतिर केन्द्रीत थियो। अनि हामी पनि आफ्नो कुरालाई बन्द गरेर उनको कुरा सुन्न थाल्यौं। उनले कोही अर्को व्यक्तिलाई फोनमा भनिरहेका थिए, ‘मेरो बिरोधी दुई/चार जना छन् भाई। तिनीहरुलाई म आफै सम्झाउँछु। मानेनन् भने सिध्याउनुपर्छ।’ उनको यति कुरा सुनेपछि हाम्रा कान ठाडा भए। 

आघा घण्टाभन्दा बढी समय बितिसकेको थियो। तर तिनीको कुरा भने सकिएको थिएन। जति समय बढ्दै थियो त्यति नै तिनको डरलाग्दो कुरा सुनिन थाल्यो। यसै क्रममा फोनमै उनले फेरि भने, ‘अब दुई चार जनालाई ठोक्नुपर्छ भाई। मार्ने हो हाम्रो बिरोधीलाई। त्यो जिम्मा तिम्रो भयो। तिमीलाई भारत कसरी पठाउनुपर्छ र कसरी सुरक्षित राख्नुपर्छ त्यो जिम्मा मेरो,’ उनले फोनकै कुराकानीमा अगाडि भने, ‘सुदूरपश्चिमका जुनसुकै नाकाबाट तिमीहरुलाई भारत पठाउनसक्छु।’

यो एक उदाहरण मात्रै हो। तर यति भनेपछि सबै कुरा प्रष्ट हुन्छ। अहिलेका अधिकांश जनप्रतिनिधिहरु अप्रत्यक्ष रुपमा अपराधमा पनि संलग्न छन् भन्ने कुरा यसले पुष्टि गरेको छ। पछिल्लो समयमा मात्रै घटेका केही घटनालाई हेर्ने हो भने पनि यो विषय स्पष्ट हुन्छ। गत कात्तिकमा कैलाली लम्कीका भूपेन्द्र बडुवालको हत्या भयो। हत्यामा संलग्न अधिकांश अझैपनि फरार छन्। मुख्य योजनाकारसहितका संलग्नहरु फरार रहेका हुन्। उनीहरु भारतमा लुकेर बसेको प्रहरीले जनाएको छ। त्यसपछि कैलालीकै पूर्वी क्षेत्र जानकी गाउँपालिकाका अर्जुन दासको घाँटी रेटेर हत्या भयो। उक्त घटनामा संलग्न भएकाहरु पनि भारतमा नै लुकेको बताइएको छ। उनीहरु त्रिनगर–गौरीफन्टा नाका भएर नै भारत गएको खुलेको छ। यसअघिका घटनामा संलग्न भएकाहरु भारतमै लुक्ने गरेका छन्। तर उनीहरु लुकेको स्थानबारे कसैलाई पत्तो छैन। उनीहरुलाई जनप्रतिनिधिको पनि साथ मिलेको हुन्छ। 

अहिले अपराधिक क्रियाकलापमा संलग्न हुनेहरु जनप्रतिनिधिको संरक्षणमा हुन्छन्। त्यो कुरा उनीहरुले स्वीकार नगरे पनि सत्य यही हो। कसैको संरक्षणमा भारत पसेकाहरु पक्राउ परेको उदाहरण पनि सायदै होला। यसले गर्दा पीडित परिवारले न्याय पाउन सकेका छैनन्। प्रहरी प्रशासन र अन्य सरोकारवाला निकायको प्रतिष्ठा पनि गुम्दै गएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस