सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराकाे अमरगढीका प्रशासकीय अधिकृतको सरुवाले आर्थिक कारोबार ठप्प

२०७८ पुष २०, ०५:४३ खबर संवाददाता

हरिश चन्द, डडेल्धुरा: अमरगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएका कारण आर्थिक लगायतका महत्त्वपूर्ण निर्णयमा समस्या उत्पन्न भएको छ। दुई महिनादेखि  रिक्त रहेको पदमा हालसम्म नयाँ अधिकृत नपठाउदा समस्या उत्पन्न भएको हो। 

वृद्ध भत्ता, घरनक्सा पास, उपभोक्तासँग गरिने सम्झौता, कर्मचारीका सेवासुविधा लगायतका कामकारबाही रोकिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र  अमरगढी नगरपालिकाले सरुवा नमागेको अवस्थामा मन्त्रालयको गल्तीले समस्या आएको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले बताए। 

प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्याय सरुवा भएपछि निमित्त कार्यकारी शिक्षा शाखाका हेमन्तराज पन्तलाई जिम्मेवारी दिइएको छ। तर, उनले आफ्नो अधिकार प्रत्यायोजन गर्नका लागि हिचकिचाएका कारण पनि समस्या सिर्जना भएको नगरपालिका स्रोतले बताएको छ।

खर्चसम्बन्धी सम्पूर्ण आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतमा रहने भएकाले अहिले सम्पूर्ण भूक्तानी रोकिएको नगरप्रमुख ओझाले बताए। विभिन्न ठेक्कापट्टा स्वीकृत गर्ने, ठेक्काको लागत स्टिमेट स्वीकृत गर्नेदेखि लिएर सूचना प्रकाशन गर्नेजस्ता सबै कार्य रोकिएको उनले बताए। 

प्रशासकीय अधिकृत नभएमा वडा कार्यलयहरूबाट आएका योजनाहरूको सम्झौता नै नहुने भएकाले वडाको विकास निर्माण समेत प्रभावित बनेको छ।
 

कमेन्ट लोड गर्नुस