निर्मला हत्या प्रकरण : भारतीय नागरिकबाट उघ्रेला त पर्दा ?
धनगढी : बलात्कारपछि हत्या भएको साढे तीन वर्षसम्म पनि निर्मला पन्त प्रकरणमा प्रहरीले पर्दा उघार्न सकेको छैन। निर्मलाका हत्यारा पत्ता लगाउन सडकदेखि सदनसम्म आवाज उठे पनि प्रहरीले दोषीलाई कानूनी दायरामा ल्याउन नसकेको हाे।
निर्मला प्रकरणमा सायदै सबैभन्दा बढी छानबिन समिति गठन गरेर अनुसन्धान भएको थियो भने अहिले पनि जारी छ। निर्मला प्रकरणमै प्रहरीले केही समय अगाडि एकजना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। ‘निर्मला मृत फेला परेको क्षेत्रको आसपासमै तरकारी खेती गर्दै आएका भारतीय नागरिकका छोरा पक्राउ परेका छन्,’ एक प्रहरी अधिकारीले दिनेशखबरलाई भने, ‘उनको डीएनए परीक्षण भइरहेको छ। ती व्यक्तिबाट घटनाबारे केही खुल्छ की भन्ने आशा छ।’
यता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले निर्मला हत्या प्रकरणमा अनुसन्धान जारी रहेको बताए। ‘जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, प्रदेश प्रहरी र राष्ट्रिय अनुसन्धानको सयुक्त डेडिकेटेड टीमले निर्मला हत्याको घटनामा अनुसन्धान गरिरहेको छ,’ उनले भने, ‘अहिले नै मिडियालाई भन्नैपर्ने खबर हामीसँग केही छैन।’
कञ्चनपुरको भीमदत्त नगरपालिकाकीस्थित उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्त ०७५ साउन १० गते साथीको घरबाट बेपत्ता भएकी थिइन्। भोलिपल्ट घरभन्दा एक किलोमिटर टाँढा उखुबारीमा उनको शव फेला परेको थियो। त्यसपछि निर्मलाको बलात्कारपछि हत्या भएको मेडिकल रिपोर्ट आइको थियो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले घटनाको करिब एक महिनापछि स्थानीय दिलीपसिंह बिष्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्यो। स्थानीयले विष्ट दोषी नभएको भन्दै आन्दोलन गरे। भेजिनल स्वाबमा भेटिएको डीएनएसँग ‘म्याच’ नभएपछि बिष्ट छुटे भने नक्कली व्यक्तिलाई उभ्याएर वास्तविक अपराधीलाई उम्काउन खोजेको आरोप प्रहरीले खेपेको थियो।
अपराध अनुसन्धानमा गम्भीर लापरबाही गरेको र प्रमाण नष्ट गरेको भन्दै तत्कालीन कन्चनपुर प्रहरी प्रमुख दिल्लीराज विष्टसहितका प्रहरी बर्खास्त भएका थिए भने विष्टसहितका प्रहरीले अदालतबाट सफाई पाए। सीआईबीले २/२ महिनाको अन्तरमा विभिन्न टोली पठाए पनि अभियुक्त भने पत्ता लगाउन सकेको छैन। निर्मलाको न्यायका लागि भएको आन्दोलनमा प्रहरीको गोली लागेर थप एक युवकको समेत मृत्यु भएको थियो।