विदेश जाँदा कसरी फसिन्छ ? खडकलाई सोध्नुस्(भिडिओसहित)
धनगढी: देशमै रोजगारीको समस्या भोगिरहेका मध्यम वर्गीय अधिकांश नेपाली युवाको वैदेशिक रोजगारीको गन्तव्य खाडी मुलुकहरु बन्छन्। त्यहाँ नेपालीले विभिन्न समस्या भोगिरहेको हामीले सुनिरहेका हुन्छौं। त्यस्तै समस्याका साँच्ची हुन् डडेल्धुराका खडक बिष्ट। उनी वैदेशिक रोजगारीका लागि भनेर सन् २०१४ मा पहिलोपटक मलेशिया गए।
मलेशियाको उनको बसाई एकदम कष्टकर बन्यो। अनले त्यहाँ कम्पनीमा काम गर्दै गर्दा अनौठा अमानवीय व्यवहारहरुको सामना गर्नु पर्याे। ‘आजसम्म नदेखेका जति मुसाहरु मैले त्यहाँ देखे, खटमलको घार मै बस्ने ठाउँमा थियो’ उनी सम्झन्छन्, ‘हरेक दिन रोएर दिन रात बिताउनुपर्ने थियो।’ उनले त्यहाँ १५ महिना मात्रै बसेर भागेर राजदुतावास पुग्नुपर्यो। राजदुतावासमा कागजात बनाएर उनी नेपाल फर्किए। उनी अरुलाई पनि आग्रह गर्छन् ‘त्यहाँ नियमकानुन केही पनि छैन, त्यसैले लापरवाह भएर त्यहाँ नजानुस्।’
नेपाल फर्किएका उनले ऋण खोजेर भए पनि केही गर्छु भन्ने सोच बनाएका थिए। तर उनको त्यो सोच सफल हुन सकेन। फेरि उनी विदेश जाने सोचमा पुगे। र, कतार उनको अर्को गन्तव्य भन्यो। कतारमा भने उनलाई त्यस्तो असहज भएन। उनले त्यहाँ जाने बित्तिकै विभिन्न संस्थाहरुमा आवद्धता कायम गरे। उनी सुदूरपश्चिम समाजको संस्थापक सदस्य नै बने। उनी भन्छन् ‘मैले मलेशियामा भोगेको समस्या अरुले भोग्नु नपरोस् र हामी नेपालीहरु कसैलाई अप्ठ्यारो पर्याे भने सहयोग गर्न सकियोस् भनेर संस्थाहरुमा आवद्ध भएको हुँ।’ त्यसपछि ३ वर्ष २ महिना कतारको बसाईलाई बिट मारेर उनी कुवेत गए र अहिले उनी दुई महिनाको विदा लिएर कुवेतबाट २०७८ मंसिर १८ गते नेपाल फर्केका छन्।
उनी जनआन्दोलनको नामले नेपालमा भएको माओवादी युद्धमा भाग लिएका व्यक्ति पनि हुन्। नेपालमा नै गरिखाने वातावरण नेपालीले पाउन र समृद्ध नेपाल निर्माण होस् भनेर आन्दोलनमा लागेका उनले आफै विदेश जानुपर्याे।
उनी अहिले हरेक नेपाली युवालाई आग्रह गर्छन् ‘सकिन्छ चुनौती सामना गरेर भए पनि नेपालमा नै केही गर्नुस्। सकिएन र विदेशनै जानुपर्यो भने पनि दलालको पछि लागेर भन्दा प्रक्रिया पुर्याएर जानुस’ उनी भन्छन्, ‘म मलेसिया जाँदा सिप हुँदाहँदै पनि प्रक्रियाको अभावले नै फस्नुपर्याे। कतार जाँदा भने साथीहरु जो पहिला उता थिए उनलाई जान लागेको कम्पनीको विषयमा बुझे र अन्तरवार्तामा भाग लिएर गए।’
फस्ने युवाहरू कम्पनीले लिने अन्तरवार्तामा फेल हुने हुँ कि भन्ने डरले दलालको सहायता लिन पुग्ने उनी बताउँछन्। ‘फेल हुने डर नपाल्नुस् तपाईं पास हुनुहुन्छ तर दलालको विश्वासमा परेर नफस्नुस्’ उनले भने।
(कार्यक्रम प्रभात विमर्शको नियमित श्रृंखलामा, खडक विष्टसँग दिनेश खबरकर्मी पदमराज जोशीले गरेको कुराकानीमा आधारित।)