कञ्चनपुरमा लागुऔषधसहित धनगढीका २ जना पक्राउ
कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी गस्ती टोलीले २ जनालाई पक्राउ गरेको हो। पुनर्वास नगरपालिका वडा नम्बर १० दोदापुलबाट कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ३३ वर्षीय सनम भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।
उनले चलाएको से ३ प ४४९६ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा कालो प्लाष्टिक भित्र राखेको अवस्थामा नाइट्राभेट १५ ट्याब्लेट र स्पास लेखेको ४४ क्याब्सुल फेला पारेको प्रहरीले बताएको छ। सोही मोटरसाइकलको पछाडी सवार सोही ठाउँ बस्ने २८ वर्षीया रितु भण्डारी पनि पक्राउ परेको बताइएको छ। उनीहरुमाथि कानून बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले बताएकाे छ।