जहाँ हिउँ साँधेर खाइन्छ
काठमाडौं : नेपालका हिमाली क्षेत्रमा हिउँ साँधेर खाने चलन रहेको छ। जुम्ला लगायत कतिपय हिमाली जिल्लामा हिउँ परेर रोकिएको भोलिपल्ट घाम लाग्दा घरनजिक वा टाढाबाट हिउँ ल्याई साँधेर खाने चलन रहिआएको छ।
‘हिउँमा नुन, खुर्सानी, चुक तथा अमिलो पदार्थ र चिनी मिलाएर राख्ने अनि घाम लागेका बेला घाममा बसेर घरपिरवार तथा साथीभाइ मिलेर खाने चलन छ।’ जुम्लाकी भगवती आचार्यले भनिन्। अहिलेभन्दा पनि फागुन–चैतमा घरदेखि टाढासम्म गएर पनि हिउँ ल्याउने र साँधेर खाने चलन रहेको उनले बताइन्।
त्यति मात्रै नभई यहाँ परेको हिउँ हवाईजहाजमार्फत् नेपालगन्ज, सुर्खेत तथा काठमाण्डूसम्म पुर्याउने गरेको पनि जुम्लाका अर्का स्थानीय बासिन्दा देवेन्द्रराज गिरी बताउँछन्। उनले भने, ‘कसैकसैले बेच्ने गरेको पनि मैले देखेको छु। तर नेपालगन्जमा रहेका मेरा आफन्तहरूले धेरै पटक हिउँ मगाएका पनि छन्।’ त्यहाँ पुर्याएको हिउँ आफन्तका साथै अन्य मानिसले साँधेर खाँदा कतिपय आश्चर्यजनक ढङ्गले हेर्ने र सोध्ने गरेको उनले बताए।
जुम्लामा हिउँ परेपछि खाने मात्रै नभई बालबालिकालाई हिउँको पानीले नुहाउने चलन पनि रहेको स्थानीयवासी जानकी शाहीले बताइन्। ‘चैत–वैशाखमा बच्चाहरूलाई गर्मी नलागोस् र बिरामी नपरून् भनेर अग्ला डाँडामा गएर हिउँ ल्याउने र त्यहीँ हिउँ पग्लेको पानीले नुहाउने चलन अहिले पनि रहिआएको छ,’ उनले भनिन्। गर्मी महिनामा बालबालिकालाई शीतल बनाउन नुहाउने गरेको उनी बताउँछिन्। -बीबीसी नेपाली