सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको पूर्वी क्षेत्रका गाउँमा त्रास, अमरावती जंगल जाने महिलामा भयानक डर

२०७८ पुष ११, ०५:४३ विन्दु चन्द

धनगढी: शनिबार दिउँसो कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ पुग्दा त्यहाँका धेरै गाउँ सुनसान थिए। साताअघि २५ वर्षीय अर्जुन दासको क्रुर ढंगले बीभत्स हत्या भएपछि वडा नम्बर ९ का अधिकांश गाउँ नै सुनसान बनेका छन्। दासको गाउँ त शोकमा डुबेको  नै छ। तर त्यो घटनाकाले अन्य गाउँमा त्रास फैलिएको छ। घाँटी छिनालेको अवस्थामा दासको शव अमरावती सामुदायिक वनमा फेदला परेपछि त्यस क्षेत्रमा झनै डराउने वातावरण बनेको छ। 

अधिकांश स्थानीयले सोही जंगलबाट घाँस दाउरा ल्याउने गरेका छन्। आजभोलि एक/दुई जना मात्रै जंगलमा जान डराउनले गरेको स्थानीय अम्बी विष्टले बताइन्। पहिले एक्लै जाँदा पनि जंगलमा डर नलाग्ने गरेको उनले सुनाइन्। ‘के गर्नु आफ्नो धेरै जमिन पनि छैन। गाई भैंसीलाई त्यतैबाट घाँस ल्याउनुपर्छ। खाना पकाउन दाउरा पनि त्यहि जंगलबाट लान्छाँै’ अर्की स्थानीय कल्पना टमटाले भनिन्, ‘पहिला त एक्लो पनि आइन्थ्यो अब त धेरै डर लाग्छ।’ 

आजभोलि अमरापती वनमा जानै नसकिने माहोल भएको अर्की स्थानीय मीना भुलले बताइन्। ‘मनमा यहि डर भइरहन्छ कि कतै झारपातमा बसेका छन् कि। ५/७ जनाको समूहमा जाने गर्छौ तै पनि डर लाग्छ’ उनले भनिन्।  साता अगाडि जंगलमा घास दाउरा गर्न गएका स्थानीय महिलाले नै दासको विभत्स हत्या भएको खबर प्रहरीलाई गरेका थिए। तर अहिले तीनै महिला जंगलमा जानसक्ने अवस्थामा छैनन्। अमरावति सामुदायिक वनका हेरालुमा पनि त्रास फैलिएको छ। 

उक्त सामुदायिक वनमा ३ जना हेरालु छन्। पहिले एक्ला एक्लै जंगलभित्र हेरचाह गर्न जाने गरेकोमा घटनापछि भित्रि क्षेत्रतिर जान नपाएको एक जना हेरालु दिपक साउँद बताउँछन्। उनले घटनापछि डर बढेकाले आफूहरुले सडक किनारमा बसेर हेरचाह गर्ने गरेको बताए। उनले भने, ‘पहिले धेरै केटाहरु यो जंगलमा बसेर धुम्रपान गर्ने गर्थे। वास्ता गरिन्थेन। यस्तो घटना हुन्छ भनेर सोच्दा पनि सोचिएन्। यो घटनाले त भयानक डर बढाएको छ। हामी हेरालु तीनै जना सँगै हिड्छौ। भित्र जानै डर लाग्छ।’ उक्त जंगलमा युवाहरुले लागुऔषध गर्ने गरेको समेत स्थानीय बताउँछन्।

दास हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म एक जनालाई मात्र पक्राउ गरेको छ। तर पक्राउ परेका ती व्यक्ति पनि हत्यामा प्रत्यक्ष संलग्न भने नदेखिएको प्रहरी अधिकारीले बताएका छन्। हत्यामा संलग्न भनिएका सात जना भने अहिले पनि फरार छन्। जसका कारण स्थानीयमा त्रास झनै बढेको छ। 

गाउँको जीवनशैली नै फेरियो
दास हत्या प्रकरण घटेदेखि गाउँको जीवनशैली अर्थात दैनिकी नै फेरिएको स्थानीय मीना लुहारले बताइन्। ‘पहिले त राति १० बजेसम्म पनि साथीभाई, आफन्त र परिवार बाहिरै बसिरहेका हुन्थ्यौं। टिभी हेर्ने गफगाफ गरेर बल्ल निदाइन्थ्यो’ उनले भनिन्, ‘अब त ५ नबज्दै खाना खाएर निद्रा नलागे पनि जबरजस्ती सुत्नुपर्छ। साँझ ५ बजे कोठाभित्र पसेपछि भोलि विहान ६ बजे नै बाहिर निस्किन्छौँ। धेरै डर छ।’

कैलालीको जानकी गाउँपालिकासहित कैलालीको पूर्वी क्षेत्रमा जघन्य अपराधका घटना बढेका छन्। सो क्षेत्रमा लागुऔषधको जालो फैलिँदै गएको र त्यसैको परिणाममा जघन्य अपराध बढेको स्थानीयको भनाई छ। तर अपराध नियन्त्रणमा प्रहरीको भूमिका नदेखिएको गुनासो पनि उनीहरुले गरेका छन्। 

प्रहरीले समयमै अपराधिहरुलाई पक्राउ नगर्दा झन त्रास फैलीएको स्थानीय नामसरा न्यौपाने बताउँछिन्। ‘के थाहा उनीहरु यहि जंगलमा बसिरहेका पो छन् कि, अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन’ उनले भनिन्। 
बालबालिकालाई विद्यालय पठाउन पनि त्रास भइरहेको स्थानीयले बताएका छन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस