‘एमाले कार्यकर्ताको भर्ती केन्द्र बन्यो’ कञ्चनपुरको कृष्णपुर नगरपालिका
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्दा मनोमानी गरेको आरोप लागेको छ। नगरपालिकाका जनप्रतिनिधिले मनोमानी रुपमा कर्मचारी थप्न लगाएको आरोप लागेको हो।
काँग्रेस कञ्चनपुरका सचिव हेमराज ओझाले नगरपालिकाले सूचनासमेत सार्वजनिक नगरेर कर्मचारी भर्ना गर्दै आएको बताए। ‘आवश्यकताभन्दा मनोमानी रुपमा कर्मचारी भर्ना हुँदै आएको छ,’ उनले भने, ‘नगरपालिकालाई एमाले कार्यकर्ताको भर्ती केन्द्र बनाइएको छ। कर्मचारी भर्ना गर्दा सूचनासमेत सार्वजनिक गरिदैन। कसैलाई जानकारीसमेत हुँदैन।’
नगरपालिकामा करार तथा ज्यालादारीमा कर्मचारी भर्ना गर्ने क्रम रोकिएको छैन। तर एमालेबाहेक अन्य पार्टीमा आस्था राख्ने युवाहरुलाई भने रोजगारी नदिइएको गुनासो गरिएको हो।
नगरपालिकाले उपलब्ध गराएको तथ्याङ्कमा प्रत्येक आर्थिक वर्षमा करार सेवाका कर्मचारीहरुको तलव र भत्ताको मात्रै ठूलो रकम खर्च हुँदै आएको छ। आर्थिक वर्ष २०७६/७७ मा एक करोड ५८ लाख १९ हजार तलव र ५ लाख ३६ हजार महंगी भत्तामा खर्च गरेको नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा एक करोड १० लाख ७९ हजार खर्च गरेको छ।
चालू आर्थिक वर्षको कार्तिक महिनासम्म मात्र ५५ लाख ५४ हजार रुपैयाँ करार सेवाका कर्मचारीको तलव र भत्तामा खर्च भएको छ। आर्थिक वर्ष २०७४÷७५ र २०७५÷७६ को करार तथा ज्यालादारी सेवाका कर्मचारीका लागि भएको खर्चको विवरण भने लुकाइएको छ।
प्राविधिक, कार्यालय सहयोगी लगायतका कर्मचारी करार सेवामा भर्ना गरेको कृष्णपुर नगरपालिकाका मेयर कर्णबहादुर हमालले बताए। ‘नगरपालिकामा कर्मचारीको अभाव छ,’ उनले भने, ‘प्राविधिक कर्मचारीलाई करारमा भर्ना गरेका छौं। आवश्यकताका आधारमा कर्मचारी भर्ना गरेका हौं।’
तर करार तथा ज्यालादारीमा कार्यरत रहेका कर्मचारीको पूर्ण तथ्याङ्क भने उपलब्ध गराइएको छैन। सूचनाको हक प्रयोग गर्दै दर्ता गरिएको निवेदनमा पनि तथ्याङ्क लुकाइएको हो।