सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट प्रस्ताव गरिएका साढे ४ खर्ब लगानीका योजनामा वैदेशिक लगानी शून्य

पश्चिम सेती र एसआर सिक्स मोडालिटीबारे अध्ययन

२०७८ पुष १०, १२:१७ खबर संवाददाता

वीरेन्द्र भट्ट, धनगढीः  २०७५ चैतमा संघीय राजधानी काठमाडौँमा विभिन्न देशका लगानीकर्ताहरुलाई आमन्त्रण गरेर सरकारले लगानी सम्मेलनको आयोजना ग¥यो। लगानी सम्मेलनमा सुदूरपश्चिमबाट आधा दर्जन योजना समावेश गरिएको थियो। ७५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेती, १ हजार २ सय मेगावाट विद्युत उत्पादन क्षमताको एसआर सिक्स, धनगढी विमानस्थल, एकीकृत कृषि पूर्वाधार परियोजना तथा सुदूरपश्चिम परिवहन परियोजना अन्तर्राष्ट्रिय लगानीको अपेक्षासहित लगानी सम्मेलनमा समावेश गरिएको थियो। लगानी सम्मेलनमा ४० मेगावाट विद्यूत उत्पादन क्षमताको माथिल्लो चमेलिया जलविद्युतलाई समेत समावेश गरिएको थियो। तर लगानी सम्मेलन भएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि सुदूरपश्चिमका परियोजनामा भने वैदेशिक लगानी शून्य देखिएको छ। लगानी सम्मेलनमा समावेश गरिएका पश्चिमतिरका कुनै पनि योजनामा वैदेशिक लगानी आउन नसकेको लगानी बोर्डका सूचना अधिकारी राजु गुँरागाइले बताए। 

सरकारले लगानीको अपेक्षा गर्दै दिर्घकालिन विकासका योजनाहरुलाई छनोट गरेर अन्तर्राष्ट्रिय लगानीकर्ता समक्ष राखेको भएपनि सुदूरपश्चिमको हकमा भने कुनैपनि योजनामा लगानीकर्ताको आकर्षण बढ्न नसकेको लगानी बोर्डले जनाएको छ। धनगढी विमानस्थललाई अन्तर्राष्ट्रिय वीमानस्थलको रुपमा विकास गर्न लगानी आह्वान गरिएको थियो। त्यस्तै सुदूरपश्चिम परिवहन परियोजनाका लागि पनि लगानी जुटाउन लगानी सम्मेलनमा दिर्घकालिन योजनाको रुपमा प्रस्तुत गरिएको थियो। तर यी दुवै विषयप्रति लगानी बोर्ड समेत अनभिज्ञ देखिएको छ। ‘जलविद्युत, कृषि र विमानस्थलका लागि लगानी आउने अपेक्षा बोर्डले समेत राखेको थियो। तर अहिलेसम्म कहिकतैबाट ती परियोजनाका लागि बैदेशिक लगानी आउन सकेन’ सूचना अधिकारी गुरागाईले भने।

पश्चिम सेती र एसआर सिक्स संयुक्त जलविद्युत आयोजनाको मोडालिटी अध्ययनका लागि भने राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा अध्ययन समिति नै गठन गरेर लगानी र परियोजना मोडालिटीबारे अध्ययन भइरहेको छ। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत शुसिल भट्ट समेत सदस्यको रुपमा कार्यरत रहेकाले केही समयभित्रै ठोस निर्णय आउनसक्ने लगानी बोर्डले जनाएको छ। 

लगानी सम्मेलनमै अन्तर्राष्ट्रिय लगानीका लागि समावेश गरिएको एकीकृत कृषि पूर्वाधार परियोजना भने लगानी बोर्डले प्रदेश सरकार आफैले बनाउनसक्ने आधार पेश गर्दै फिर्ता गरेको छ। लगानी बोर्डले २ सय मेगावाटभन्दा माथि र ६ अर्बभन्दा बढी लगानीका योजनालाई मात्र हेर्दै आएको छ। एक खर्ब ५० अर्ब लगानीको ७ सय ५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेतीको मोडालिटीबारे भने अध्ययन भइरहेकाले एक हजार २ सय मेगावाट विद्युत उत्पादन क्षमताको एसआर सिक्स योजनाका लागि समेत लगानी जुट्नसक्ने अपेक्षा लगानी बोर्डले गरेको छ।

अन्तर्राष्ट्रिय लगानीको अपेक्षासहित सुदूरपश्चिम प्रदेशबाट आधा दर्जन योजना लगानी सम्मेलनमा समावेश गरिएको भएपनि कुनै पनि राष्ट्रबाट अहिलेसम्म ती योजनामा लगानीका लागि प्रतिबद्धता नआएको बोर्डले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस