डडेल्धुराकी मनिषा २ वर्षदेखि क्यान्सरसँग लड्दै, उपचारमा आर्थिक संकट
धनगढी: डडेल्धुराकी मनिषा जोशीको वायाँ हातको पाखुरा २ वर्ष अघिदेखि दुखिरहन्थ्यो। तर सामान्य नै भएको हुनसक्ने भन्दै परिवारले त्यति वास्ता गरेन्। दुखाइ बढ्दै गएपछि उनको परिवारले डडेल्धुरा अस्पतालमा उपचारका लागि लग्यो। त्यहाँका चिकित्सकले औषधि उपचार गरेर तराईका अस्पतालमा जान सुझाव दिएका थिए।
अजयमेरु गाउँपालिका– २ रोल्ली बस्ने उनको सामान्य परिवारले डाक्टरको सुझाव अनुुसार धनगढीका केही अस्पतालमा विभिन्न चेकजाँच गराएको थियो। त्यसपछि परिवारले मनिषालाई थप उपचारका लागि भारतको सितारगञ्ज लगेको थियो। पाखुरामा क्यान्सर भएको हुनसक्ने निष्कर्ष डाक्टरहरुले निकालेपछि सितारगञ्ज लगेको मनिषाका बुवा दिर्घराज जोशी बताउँछन्। ‘धेरैले हामीलाई पहिले नै काठमाडौं लगेर जान सुझाव दिनुभएको थियो तर हामीले भारत लग्यौं। त्यहाँ पनि नभएपछि अन्तिममा भक्तपुर क्यान्सर अस्पतालमा पुर्याएका छौं’, उनले भने।
मनिषा विगत ५ महिनादेखि अस्पतालको बेडमा छिन्। डाक्टरहरुले उनको किमो गरिरहेका छन्। बुवा दिर्घराजका अनुसार छोरीको उपचारमा हालसम्म ५ लाख जति खर्च भइसकेको छ। ‘म बेरोजगार मान्छे। विभिन्न ठाउँबाट ऋणदान गरेर, आफन्तबाट सहयोग मागेर हालसम्म उपचार गराइरहेको छु’ उनले भने, ‘अजयमेरु गाउँपालिकाले पनि १ लाख सहयोग गरेको थियो। तर अब सबै पैसा सकिएको छ। डाक्टरले उपचार गराइरहनु भनेका छन्।’
कक्षा १२ मा अध्ययनरत मनिषाको अझै किमो गर्नुपर्ने र त्यसरी पनि ठिक नभए शल्यक्रिया गनुपर्ने क्यान्सर अस्पतालका चिकित्सकहरुले बताइरहेका छन्। तर उनको थप उपचारका लागि उनको बुवासामु आर्थिक संकट आइपरेको छ। उनले सबैलाई सहयोगलाई याचना गरेका छन्। मनिषालाई सहयोग गर्न चाहनेले सानिमा बैंकको खाता नम्बर ००३०११०८००००६१५ रकम जम्मा गर्न सक्नेछन्। थप जानकारीका लागि मनिषाका बुवा दिर्घराज जोशीको मोबाइल नम्बर ९८४८८६३४८७ मा सम्पर्क गर्न सक्नेछन्।