सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहणको चर्चाले सल्बलाए कारोबारी

कसैलाई जानकारी नगराई जग्गामा रेखाङ्कन गरिएपछि जम्मा भएका विमानस्थल वरपरका स्थानीय
कसैलाई जानकारी नगराई जग्गामा रेखाङ्कन गरिएपछि जम्मा भएका विमानस्थल वरपरका स्थानीय
२०७८ पुष ७, ०३:०७ नवराज पनेरु

धनगढी : ०७६ माघमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई दलबलसहित धनगढी पुगे। मन्त्रीकै उपस्थितीमा नेपाल नागरिक उड्यन प्राधिकरणले धनगढी विमानस्थलको २० वर्षे गुरुयोजना सार्वजनिक गर्‍याे। 

विमानस्थलको स्तरोन्नतिका लागि थप २ सय ९७ बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव पनि गरियो। गुरुयोजना सार्वजनिक भएपछि विमानस्थल वरपरको जग्गा खरिदबिक्री बन्द भयो। जग्गा अधिग्रहणको चर्चाले त्यहाँका स्थानीयले भौतिक संरचना थप्न पनि छाडे। सो क्षेत्रको जग्गाले बैंकीङ प्रयोजनमा पनि मान्यता पाएन।

विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गा दिन स्थानीय तयार भए। स्थानीयले पटकपटक अधिग्रहण हुने जग्गा छुट्याउन माग पनि गरे। तर दुई वर्षको अवधिमा जग्गा अधिग्रहणका लागि कुनै प्रक्रिया अगाडि बढेको छैन। १४ मंसिरमा धनगढी विमानस्थलको निरीक्षण गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जग्गा अधिग्रहणको काम तत्काल अघि बढाउन निर्देशन दिए। त्यसपछि फेरि जग्गा अधिग्रहणको चर्चा चुलियो। 

दुई वर्षसम्म बिक्न नसकेको विमानस्थल वरपरको जग्गा खरिदका लागि मंसिर अन्तिम साता एउटा समूह सक्रिय भयो। ‘जग्गा खरिद गर्छाै भनेर ४/५ जना आएका थिए,’ एक स्थानीयले भने, ‘उनीहरुले विमानस्थल वरपरकै जग्गा हेर्न थाले। २ वर्षसम्म बिक्न नसकेको जग्गा, अधिग्रहणको चर्चा चुलिएको समयमा खरिद गर्ने समूह सक्रिय हुँदा अचम्म लागेको थियो।’

त्यसको केही दिनपछि गत शुक्रबार बिहान विमानस्थल वरपरको जग्गामा रेखाङ्कनसहित पिल्लर गाढेको फेला परेको ती स्थानीयले बताएका छन्। ‘रेखाङ्कनका लागि आएका ४/५ जनाले आफूलाई सरकारी कर्मचारी नै हौं भनेर परिचित गराएका थिए,’ ती स्थानीयले दिनेशखबरलाई भने, ‘विमानस्थलकै लागि जग्गा अधिग्रहण गर्न रेखाङ्कन गर्न लागिएको हो पनि भनेका थिए। तर अहिले आएर विमानस्थल कार्यालयले रेखाङ्कन सरकारीस्तरबाट भएको होइन भनिरहेको छ।’

अहिले विमानस्थल कायम रहेको क्षेत्रबाट पूर्वपट्टीको जग्गामा रेखाङ्कनसहित पिल्लर गाढिएको छ। तर विमानस्थलको गुरुयोजनासमेत पास नभएका कारण अधिग्रहणको प्रक्रिया सुरु नभएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्ट बताउँछन्। ‘विमानस्थल वरपरको जग्गामा रेखाङ्कन गर्ने कार्य सरकारबाट भएको होइन,’ उनी भन्छन्, ‘रेखाङ्कनबारे विमानस्थल कार्यालयसंगै मन्त्रालय पनि अनभिज्ञ छ। अहिलेसम्म जग्गा अधिग्रहणको कुनै प्रक्रिया नै सुरु भएको छैन। रेखाङ्कन गर्ने त कुरै भएन।’

रेखाङ्कनको कार्य सरकारले नगरेको बताएपछि जग्गा कारोबारी सक्रिय भएको पुष्टि नै भएको स्थानीय बताउँछन्। ‘विमानस्थलका लागि जग्गा अधिग्रहण हुने चर्चापछि कारोबारी स्थानीयबाट सस्तोमा जग्गा खरिद गर्न सक्रिय भएका छन्,’ धनगढीमा जग्गाको कारोबार गर्दै आएका एक जनाले भने, ‘पूर्वको विराटनगरसम्मका व्यापारी पनि सक्रिय भएको खबर छ। स्थानीयबाट सस्तोमा जग्गा खरिद गरेर सरकारबाट बढी मुआब्जा लिने खेल भइरहेको छ।’

जग्गाको कारोबारीले सरकारले दिने मुआब्जाभन्दा सस्तोमा स्थानीयसंग जग्गा खरिद गर्ने चलखेल गर्दै रेखाङ्कनसहित पिल्लर गाढेको आशंका स्थानीय लोकराज भट्टको पनि छ। उनले थपे, ‘सरकारले रेखाङ्कन गरेको होइन भने पक्कै पनि जग्गा कारोबारी सल्बलाएको हुनुपर्छ।’ 

जग्गा कारोबारी सक्रिय भए पनि स्थानीय प्रशासन भने चासो दिने पक्षमा छैन। कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जग्गा अधिग्रहणको विषय सुरु नभएको बताउदै भने, ‘स्थानीय आफैँले चनाखो बन्नुपर्छ। सबै ठाउँमा प्रहरी पठाउन सकिन्न।’ स्थानीयले भने सरकारी संरक्षणमै रहेका जग्गा कारोबारी विमानस्थल वरपरको जग्गा सस्तोमा खरिद गर्न सक्रिय भएको आशंका गरेका छन्।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस