धनगढीका सडकभरि निर्माण सामग्री, आवागमनमा सास्ती
धनगढीः सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरका सडकमा भौतिक संरचना निर्माणका लागि आवश्यक सामग्री थुपार्दा आवतजावतमा सास्ती बढेको छ। साँघुरा सडकमा सवारी साधनको चाप बढ्दै गएको अवस्थामा सडकमै निर्माण सामाग्री थुपार्ने क्रम बढेपछि आवतजावतमा झन सास्ती बढेको हो।
साँघुुरा सडकमा बालुवा, गिट्टी लगायतका निर्माण सामग्री राख्दा आवतजावतमा समस्या भइरहेको स्थानीय राम राना बताउँछन्। ‘ठाउँठाउँमा जथाभावी निर्माण सामग्री थुपारेर राखिन्छ,’ उनले भने, ‘गाडी जाने ठाउँ नै हुँदैन। विपरीत दिशाबाट ठूला गाडी आए आउजाउमा धेरै समस्या भइरहेको छ।’
निर्माण सामग्री राखिएका कारण सवारी जाम हुने तथा दुर्घटना हुने गरेका छन्। थुपारेर राखिएका निर्माण सामग्रीका कारण समस्या खेप्नु परेको चालक वकील मोहमदले गुनासो गरे। ‘एकातिर सडकमै निर्माण सामाग्री राखिएको छ भने अर्कोतर्फ सडक बत्ती नहुँदा रातिको समयमा बढी दुर्घटनाको जोखीम रहेको छ,’ उनले भने, ‘निर्माण सामाग्रीका कारण जाम हुने र दुर्घटना हुने क्रम पनि बढेको छ।’
धनगढी उपमहानगरपालिका भने निर्माण सामग्री सडकमा नराख्नु भन्दै सूचना गरेको जनाउँदै आएको छ। पटकपटक सूचना गर्दा पनि घर धनीहरुले अटेरी गरिरहेको तर्क उपमहानगरको छ। निर्माण सामग्री राखेको भेटीए हटाउन लगाउने गरेको धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशिला मिश्र भट्टले बताइन्।
‘जाम हुने तथा दुर्घटनाको जोखिम हुन्छ भनेर हामीले कुनै पनि सडकमा सामाग्री नराख्न सूचना गरिरहेका हुन्छौँ,’ उनले भनिन्, ‘सूचनाले मात्रै पनि भएको छैन। आपतकालीनका लागि भए एक/दुई दिनसम्म ठिकै हो। तर लामो समयसम्म राख्न मिल्दैन।’
एकपटक धनगढी उपमहानगरपाकिाले जरिबाना तिराएर सडकमा निर्माण सामाग्री राख्न दिने निर्णय पनि गरेको थियो। यसले सडकमा निर्माण सामाग्री राख्ने प्रवृत्ति झन मौलाएको छ।