प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताः सुदूरपश्चिम र एपीएफ विजयी
धनगढी: धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत सोमबार भएका खेलमा घरेलु टोली सुदूरपश्चिम प्रदेश र विभागीय टोली एपीएफ विजयी भएका छन्। समूह ‘बी’ अन्तर्गत फाप्ला मैदानमा भएका खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेश र एपीएफले प्रदेश नम्बर २ लाई हराएको हो।
सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ९ विकेटले हराएको छ। टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले १८ ओभरमा सबै विकेट ३१ रनमा गुमायो। सुदूरपश्चिम प्रदेशको बलिङ सामु धर्मराएको गण्डकीका लागि कुनै पनि खेलाडीले दोहोरो रन अंक जोड्न सकेन। गण्डकीका लागि पेमलम्बु शेर्पाले बनाएको ६ रन नै सर्वाधिक हो।
सुदूरपश्चिमका लागि कविता जोशी र दीपा जोराले २/२ विकेट लिए। कविता कुँवर र ईश्वरी विष्टले एक/एक विकेट लिइन्। गण्डकीका चार जना खेलाडी रनआउट भए। प्रतिउत्तरमा ३२ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले एक विकेट क्षतिमा लक्ष्य भेट्टायो। ३२ रनको लक्ष्य सुदूरपश्चिमले दुई दशमलव १ ओभरमा पुरा गरेको हो। सुदूरपश्चिमका लागि कविता जोशीले ८ रन र शोभा रोकायाले ५ रन बनाइन्। सुदूरपश्चिमले १९ रन अतिरिक्त पायो। खेलमा दुई विकेटसहित ८ रन बनाएकी सुदुरपश्चिमकी कविता जोशी प्लेयर अफ द म्याच भइन्।
सोमबार भएको पहिलो खेलमा विभागीय टीम एपीएफले प्रदेश नम्बर २ लाई ४८ रनले पराजित गरेको छ। फाप्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपिएफले ८ विकेट क्षतिमा ९८ रन बनायो। बिहानको हुस्सु र सित लहरले ढिलोगरी खेल सुरु हुँदा १५ ओभरमा घटाइएको खेलमा एपीएफका लागि ज्योती पाण्डेयले २४ रन, ईन्दु वर्मा २१ रन, रोमा थापाले १४ रन र ममत चौधरीले ११ रन बनाइन्। प्रदेश नम्बर २ का लागि विमला मगरले तीन विकेट लिइन्। त्यस्तै अनुराधा चौधरी, रोजी खड्का र सन्तोषी चौधरीले एक एक विकेट लिइन्।
९९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले ५० रन मात्रै बनाउन सक्यो। उसले निर्धारित १५ ओभरमा ९ विकेट गुमाउँदा ५० रन मात्रै बनाउन सक्यो। प्रदेश नम्बर २ का लागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो रन अंक छुन सकेनन्। एपीएफका लागि सुष्मा श्रेष्ठले दुई विकेट लिइन्। सोनु खड्का, रेखा रावल सीता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिइन्। खेलमा एपीएफकी सुष्मा श्रेष्ठ प्लेयर अफ द म्याच भइन्।
प्रतियोगिता अन्तरगत मंगलबार समूह ‘ए’ का दुई खेल हुनेछन्। पहिलो खेलमा प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश खेल्नेछन्। सेमिफाइनल पुगेका दुबै टोलीको खेलले समूह ‘ए’ को विजेता र उपविजेताको टुङगो लगाउनेछ। मंगलबारकै अर्को खेलमा कर्णाली प्रदेश र वागमती प्रदेश खेल्नेछन्। प्रतियोगिताबाट बाहिरिएका दुबै टोली सान्तवना जितका लागि खेल्नेछन्।
नेपाल क्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ। ७ प्रदेश र एक विभागीय गरी ८ टिम सहभागी प्रतियोगिता दुई समूहमा विभाजन गरी खेलाइदैछ। प्रतियोगितामा प्रथम हुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यान अफ द सिरीज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट ब्याट्सओम्यानले १५ हजार, ओम्यान अफ द म्याचले २ हजार पुरस्कार प्राप्त गर्नेछन्।