सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मन्दिर निर्माण गर्न करोड बढी खर्च

२०७८ पुष ४, ०६:२० कमल सावद

धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ७ मा आर्थिक वर्ष २०७७/०७८ मा मात्रै १२ वटा मन्दिरका योजनाहरु कार्यान्वयन भएका छन्। संघीय सरकारको वित्तीय समानीकरण अनुदानको बजेटबाट एक वडामा मात्र १२ मन्दिरका योजना कार्यान्वयन गरिएका हुन्। ती योजनामा २३ लाख ४० हजार खर्च भएको छ। 

रामजानकी मन्दिर प्लास्टर र वाइरिङ्गका लागि ७५ हजार, खैराना जालाको मन्दिरमा यज्ञशाला निर्माणमा एक लाख, सालमुनी मन्दिरको यज्ञशाला निर्माणका लागि एक लाख, ग्वाँसी समैजी मन्दिर प्लाष्टरका लागि एक लाख, शान्तिपुरको शिव मन्दिरमा यज्ञशाला निर्माणका लागि एक लाख, शान्तिपुरको भगवती कालिका मन्दिर निर्माणका लागि ५० हजार, उग्रतारा टोलको शिव मन्दिर निर्माणका लागि ५० हजार, कार्की कटान भैरवनाथ मन्दिर रङ्रोगनका लागि ५० हजार, पछलीपट्टी राना थारुको भुइया निर्माणका लागि ७५ हजार, कार्की कटान शिव मन्दिर निर्माणका लागि ५ लाख ६० हजार, साल्मुनी मन्दिरमा ढलानका लागि एक लाख २५ हजार र गेटाघाटमा शिव मन्दिर निर्माण निर्माणका लागि १० लाख गत आर्थिक वर्षमा विनियोजन गरिएको थियो।  

विकास निर्माणका योजनाभन्दा मन्दिरका योजनाहरु नागरिकले बढी माग गर्ने गरेको वडाध्यक्ष कमलसिंह खड्काले बताए। उनले भने, ‘गत वर्ष मन्दिरका योजना कम थिए। यो वर्ष अझ बढी भएका छन्। इसाई पनि छन्, थारु पनि छन्, हामी पहाडीयाका पनि छन्। सबैले लिखित रुपमै मन्दिरका योजना माग गर्ने भएकाले बढी भएका हुन्।’ 

सुदूरपश्चिम सरकार जस्तै स्थानीय तहको ध्यान पनि समुदाय विशेषका मन्दिर निर्माणमा केन्द्रीत भएको छ। कृष्णपुर नगरपालिकाले संघीय सरकारको वित्तीय समानीकरणको अनुदान रकम मन्दिर निर्माणमा केन्द्रीत पारेको पाइएको छ। 

गत आर्थिक वर्षमा वडा नम्बर ५ बाहेक सबै वडाहरुले मन्दिर निर्माणमा लाखौं रकम खर्च गरेका छन्। नगरपालिकामा मन्दिर निर्माण, मन्दिरको प्लास्टर, यज्ञशाला निर्माण, रंगरोगन, वायरिङ्ग, पर्खाल निर्माण तथा पदमार्ग निर्माणका लागि एक करोड ११ लाख खर्च भएको छ। वडा नम्बर ४ मा शिव–पार्वती मन्दिर, राधाकृष्ण मन्दिर र ग्वाँसी समैजी धार्मिक पर्यटकीय धाम सम्वर्धनका लागि ४० लाख विनियोजन गरिएको छ। यस्तै वडा नम्बर ८ मा सालबोझिया शिव मन्दिरको पर्खाल निर्माणका लागि गत आर्थिक वर्षमा ५० हजार विनियोजन गरिएको छ।

वडा नम्बर ८ का अध्यक्ष अमरसिँह बडायकले नागरिकको माग अनुसार योजना छनोट गरिएको बताए। उनले भने, ‘नागरिकबाट माग भएका योजनाका आधारमा मन्दिरका योजना छनोट भएका हुन्। हामीले कटौति गर्दा पनि भएन।’ 
यसैगरी नगरपालिकाको वडा नम्बर १ मा ८ लाख ५ हजारका ६ योजना, वडा नम्बर २ मा  तीन लाख २० हजारका ६ योजना, वडा नम्बर ३ मा एक लाख ५० हजारका दुई योजना, वडा नम्बर ६ मा १० लाखका दुई योजना, वडा नम्बर ८ मा ५० हजारको एक योजना र वडा नम्बर ९ मा १० लाखका दुई योजना कार्यान्वयन भएको देखिएको छ। नगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा वडा नम्बर ५ मा भने गत आर्थिक वर्षमा एक पनि मन्दिरका योजना कार्यान्वयन भएको देखिदैन। 

यस विषयमा कृष्णपुर नगरपालिकाकी उपप्रमुख रमिता रानाले मन्दिरका योजनाका विषयमा अनभिज्ञता प्रकट गरिन्। उनले भनिन्, ‘प्रदेश र संघका माननीय ज्यूहरु हामीसँग समन्वय गर्दैनन्। हामीले मुख्यमन्त्रीलाई ज्ञापन पनि बुझाएका थियौं। तर पूरा भएको छैन।’

संघीय सरकारको समानीकरणमा एक करोड ११ लाखका मन्दिरका योजना कार्यान्वयन भएको नगरपालिकासँग तथ्यांक भए पनि सुदूरपश्चिम सरकारका योजनाको कुनै तथ्यांक छैन। 

 


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस