महिला क्रिकेट प्रतियोगिता : लुम्बिनी र प्रदेश १ सेमिफाइनलमा
धनगढी : लुम्बिनी प्रदेश र प्रदेश नम्बर १ धनगढीमा भइरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन्। समूह ए तर्फका आफ्ना दुबै खेलमा जित हात पार्दै लुम्बिनी र प्रदेश १ अन्तिम चारमा पुगेका हुन्। प्रतियोगिताको दोस्रो दिन भएको पहिलो खेलमा लुम्बिनीले कर्णाली प्रदेशलाई १० विकेटले हरायो।
टस जितेर पहिले ब्याटिङ गर्दै कर्णाली प्रदेशले हुस्सु र सितलहरका कारण ६ ओभरमा खेलाइएको खेलमा १७ रन बनायो। कर्णालीले निर्धारित ६ ओभरमा ३ विकेट क्षतिमा १७ रन बनाएको हो। कर्णालीका लागि कप्तान आयुशा टण्डनले ७ रन र दिक्षा पुरीले अविजित७ रन बनाइन्। लुम्बिनी प्रदेशका लागि सुस्मिता भुषालले २ र नेरी थापाले एक विकेट लिइन्।
कर्णाली प्रदेशले दिएको १८ रनको लक्ष्य लुम्बिनीले विना विकेटको क्षति पुरा गर्यो। ३ दशमलव १ ओभरमा लुम्बिनी विजयी भएको हो। उसका लागि लक्ष्मी चौधरीले १२ रन बनाइन्। लुम्बिनीका लागि नेरी थापाले ५ रन बनाइन्। खेलमा दुई विकेट लिएकी लुम्बिनी प्रदेशकी सुस्मिता भुषाल प्लेयर अफ द म्याच भइन्।
दोस्रो दिनको दोस्रो खेलमा बागमति प्रदेशलाई ५५ रनले हराउँदै प्रदेश नम्बर १ सेमिफाइनलमा पुगेको हो। टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर १ ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १४ रन बनायो। प्रदेश नम्बर १ का लागि अप्सरी वेगमले अविजित अर्धशतकीय पारी खेलिन्। ६२ वलको सामना गरेकी उनले ५१ रन बनाइन्। यस्तै स्मृति कटुवालले २० र सवनव राईले १५ रन बनाइन्। वागमति प्रदेशका लागि अस्मिना कर्माचार्य र खुशी डंगोलले दुई÷दुई विकेट लिइन्।
१ सय १५ रनको विजयलक्ष्य पछ्याएको वागमति प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ५९ रन मात्रै बनाउन सक्यो। वागमतिका लागि सुमन खतिवडाले प्रतियोगिताको पहिलो छक्का सहित २१ रनको पारी खेले पनि टीमलाई जिताउन सकिनन्। प्रदेश नम्बर १ की कप्तान रुविना क्षेत्री, ज्योती डनुवार र अलिशा खाडियाले एक÷एक विकेट लिइन्। खेलमा अर्धशतकीय पारी खेलेकी प्रदेश १ कीअप्सरी वेगम प्लेयर अफ द म्याच भइन्।
आजको हारसंगै वागमति प्रदेश र कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएका छन्। प्रतियोगिताको तेस्रो दिन दुई वटा खेल हुनेछन्। पहिलो खेलमा घरेलु टोली सुदूरपश्चिम र विभागीय टोली एफिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। अर्को खेलमा गण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन्। नेपालक्रिकेट संघको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको सह आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालन हुनेछ।