दार्चुला कारागारमा कैदी थपिएसँगै व्यवस्थापनमा समस्या
दार्चुला: दार्चुलाको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुदाँहुदै पनि थप आठ जना थपिएपछि व्यवस्थापनमा समस्या देखिएको छ। कञ्चनपुर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि थप आठ जना यहाँ ल्याइएको थियो।
कञ्चनपुरको कारागारमा ठाउँ अभाव भएपछि दार्चुला, डडेल्धुरा र कैलाली २८ कैदीबन्दी पठाइएका हुन्। मङ्गलवार राती कैदी कञ्चनपुर कारागारबाट दार्चुला कारागार स्थानान्तरण गरिएको जिल्ला कारागारका जेलर वीरेन्द्रसिंह धामीले जानकारी दिए। कञ्चनपुरबाट १० कैलाली, १० डडेल्धुरा र आठ जनालाई दार्चुला कारागार पठाइएको हो। योसँगै अब दार्चुला कारागारमा कैदीबन्दीको सङ्ख्या ६९ पुगेको छ।