सुदूर नेपाललाई विश्वसँग जोड्दै

वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूबिरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक छ : मन्त्री चौधरी

२०८३ भदौ २६, ०३:२० रासस

ललितपुर: कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुको दोहन गर्ने आपराधिक सञ्जालहरूविरुद्ध बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएका छन्। कृषि, वन तथा पर्यावरण मन्त्रालयको नेतृत्वमा आज ललितपुरमा आयोजित दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) पहिलो महासभाको समापन कार्यक्रममा उहाँले सावेनको जिम्मेवारी परिणाम देखाउने भएकाले दरिलो सहकार्यको आवश्यकता औंल्याए।

“काठमाडौँमा निर्माण भएको सहकार्यको गतिशीलतालाई निरन्तरता दिँदै आगामी दिनमा व्यावहारिक कदममार्फत क्षेत्रीय वन्यजन्तु अपराध नियन्त्रणमा ठोस प्रगति हासिल गर्नुपर्नेमा छ, काठमाडौँमा विकसित भएको सहकार्य, मित्रता, ऐक्यबद्धता र सामूहिक प्रतिबद्धताको भावनाले दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रणका लागि आगामी सामूहिक प्रयासलाई निरन्तर मार्गदर्शन गर्ने विश्वास छ”, उनले भने। मन्त्री चौधरीले काठमाडौँ घोषणापत्रमार्फत अवैध वन्यजन्तु व्यापार नियन्त्रण र क्षेत्रीय सहकार्य सुदृढ गर्ने साझा राजनीतिक प्रतिबद्धता व्यक्त भएको बताए।

महासभामा सदस्य राष्ट्रहरूले देखाएको सक्रिय सहभागिता, रचनात्मक छलफल, खुलापन, लचकता र सहकार्यको प्रशंसा गर्दै उहाँले पहिलो साधारण सभाले सावेनको आगामी यात्राका लागि सुदृढ संस्थागत आधार र स्पष्ट दिशा प्रदान गरेको उल्लेख गरे। सभाले महत्त्वपूर्ण संस्थागत, कार्यक्रमिक तथा वित्तीय विषयमा निर्णय गरेको छ, आगामी वर्षहरूमा सावेनका गतिविधिलाई मार्गदर्शन गर्ने कार्यान्वयनको खाका अनुमोदन गरेको मन्त्री चौधरीले उल्लेख गरे।  

“घोषणापत्रले अवैध वन्यजन्तु व्यापारविरुद्ध क्षेत्रीय सहकार्य बलियो बनाउन तथा वन्यजन्तु अपराध नियन्त्रणका लागि प्रभावकारी क्षेत्रीय संयन्त्र निर्माण गर्ने साझा राजनीतिक प्रतिबद्धता प्रतिबिम्बित गरेको छ”, उनले भने। मन्त्री चौधरीले निर्णयभन्दा कार्यान्वयन महत्त्वपूर्ण भएको भन्दै काठमाडौँमा भएका निर्णयमा मात्र नभई ती निर्णयलाई अब कसरी व्यवहारमा उतारिन्छ भन्ने कुराले निर्धारण गर्ने बताए।

बङ्गलादेशका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री अब्दुल अवल मिन्टुले यस महासभाले वन्यजन्तु अपराध अब कुनै एउटा देशले मात्र एक्लै समाधान गर्न सक्ने समस्या रहेन भन्ने कुरा प्रस्ट पारेको बताए। क्रमशः अझ सङ्गठित, सीमापार र प्रविधिमा आधारित हुँदै गएको तस्करीविरुद्ध हाम्रा कार्यान्वयन प्रयासहरू पनि आफ्ना सीमाभन्दा बाहिर जानुपर्छ भन्दै उहाँले सावेनमार्फत वन्यजन्तुको अवैध व्यापारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सूचना आदानप्रदान, समन्वय, कार्यान्वयन र सुदृढ संस्थागत क्षमता अत्यावश्यक छ भन्ने कुरालाई पुष्टि गरेको बताए।

दक्षिण एसियाली वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल (सावेन) को प्रथम महासभामा दक्षिण एसियाका आठ वटा देशका सरकारी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
 

कमेन्ट लोड गर्नुस