ओमिक्रोन भेरिअन्टबाट बच्न तीन मात्रा खोप आवश्यक
काठमाडौं : कोभिड खोपको दुई मात्राले मात्र ओमिक्रोनको सङ्क्रमणको खतरा नटर्ने यूकेका वैज्ञानिकहरूले चेतावनी दिएका छन्। यूकेका ओमिक्रोन र डेल्टा सङ्ग्रमणका घटनाहरूको प्रारम्भिक विश्लेषणबाट दुई मात्रा खोप नयाँ भेरिअन्ट सङ्क्रमणबाट जोगाउन कम प्रभावकारी भएको पाइएको छ।
तर तेस्रो अर्थात् बूस्टर मात्रा लगाउने हो भने ७५ प्रतिशत मानिसमा कोभिडको कुनै पनि लक्षण नदेखिने बताइएको छ। यूकेमा हालसम्म ओमिक्रोन सङ्क्रमितको पुष्टि भएको सङ्ख्या १,२६५ छ। शुक्रवार रेकर्ड गरिएको कुल कोभिड सङ्क्रमण भने ५८१९४ थियो जुन ज्यानुअरी ९ यताको सबभन्दा ठूलो सङ्ख्या हो।
बूस्टरपछि कोभिड लक्षणबाट ७५ प्रतिशत सुरक्षा हुन्छ जुन यस अघिको भेरिअन्ट विरुद्ध सुरक्षाभन्दा कम हो। खोपले धेरै मानिसलाई अस्पताल जानुपर्ने अवस्था आउनबाट बचाउँछ भन्ने छ।
तर ओमिक्रोन भेरिअन्ट अति सङ्क्रामक भएकाले ठूलो र हठात लहर आयो भने जोखिमपूर्ण अवस्थाका धेरै मानिसहरू अस्पताल जानुपर्ने अवस्था आउन सक्छ। यूकेमा हरेक दुई वा तीन दिनमा ओमिक्रन सङ्क्रमितको सङ्ख्या दोबर हुने गरेको छ। यदि अहिलेकै जस्तो सङ्ख्या बढ्दै गए डिसेम्बरको अन्त्यसम्ममा दैनिक १ लाख जना ओमिक्रोनबाट सङ्क्रमित हुने अनुमान गरिएको छ। :बीबीसी