सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुल्यो १० करोडको लगानीमा फर्निचर उद्योग

२०७८ मंसिर २५, ११:१० खबर संवाददाता

धनगढीः धनगढीमा १० करोडको लगानीमा फर्निचर उद्योग सञ्चालनमा आएको छ। उप–महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा आलोक मल्टी कन्सर्न प्रालि नामक उद्योग सञ्चालनमा आएको हो।  गत फागुन २२ गते आगलागीपछि ध्वस्त बनेको धनगढीको आलोक मल्टी कन्सर्न प्रालिको पुनः निर्माण गरेर शनिबारदेखि सञ्चालनमा आएको छ। पुनः निर्माणपछि शनिबारदेखि सञ्चालनमा आएको अद्योगको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले गरेका छन्। 

अब भारत, चीन तथा अन्य मुलुकदेखि ल्याइएका कच्चा पदार्थबाट धनगढीमै अत्याधुनिक मेशिनको प्रयोग गरेर फर्निचरका सामान उत्पादन हुने उद्योगका सञ्चालक भोजराज भट्टले बताए। १० करोडको लगानीमा सञ्चालनमा आएको उद्योगमा ८० जना भन्दा बढीले रोजगारी पाएको भट्टले बताए।

उद्घाटन कार्यक्रममा प्रदेशकी आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, डडेल्धुराको अमरगढी नगरपालिकाका नगर प्रमुख विपिन ओझा, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल, कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर लगायतको सहभागिता रहेको थियो।  

भट्टसहित हिरा जोशी, पदमबहादुर भण्डारी र आरिप अहमद राइमले उक्त उद्योगमा लगानी गरेका छन्। फर्निचरका सामग्री धनगढीमै उत्पादन गरेर बिक्री गर्ने उद्योगको योजना छ।
 

कमेन्ट लोड गर्नुस