बैतडीमा खानेपानीको हाहाकार
हिउँदयामको शुरुआत भएसँगै जिल्लाका विभिन्न विद्यालयमा खानेपानी अभाव हुन थालेको छ।
सुर्नया गाउँपालिका–४ मा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालय फाटीगडामा खानेपानी नहुँदा त्यहाँका विद्यार्थी र शिक्षकले समस्या व्यहोर्नु परेको प्रधानाध्यापक गङ्गादत्त भट्टले बताए।
करीब ४५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा पानीको अभावले शौचालय पनि बन्द गर्नुपरेको उनको गुनासो थियो।
पानी खानका लागि पनि वडा कार्यालय र स्थानीय व्यापारी कहाँ जानुपर्ने भएकाले पढाइमा बाधा हुने गरेको कक्षा १० मा अध्ययनरत छात्रा लीलावती भाटले बताए।
उक्त विद्यालयमा पहिले केयर नेपाल संस्थाले पानीट्याङ्की र धाराको व्यवस्था गरेकामो त्यो बिग्रेपछि करीब आठ वर्षयता पानीको अभाव हुँदै आएको छ।
यस्तै दोगडाकेदार गाउँपालिका–५ स्थित खोदमनाथ प्राथमिक विद्यालयमा खानेपानी अभाव भएको प्रधानाध्यापक करवीरराम सार्कीले जानकारी दिए। दलित बालबालिका मात्रै अध्ययनरत सो विद्यालयमा खानेपानी ल्याउनका लागि कतैबाट पहल हुन सकेको छैन उनले भने, “विद्यालयमा पानी उपलब्ध गराउन नसक्दा पठनपाठनमा समेत बाधा पुगेको छ।”
९७ बालबालिका अध्ययनरत उक्त विद्यालयमा पानीको अभावमा विद्यालय खाजा कार्यक्रमका साथै विद्यालयको सरसफाइमा समेत असर परेको प्रधानाध्यापक सार्कीले बताए।
कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा स–साना बालबालिका पानीको अभाबले भौतारिने हुँदा धेरै टाढाबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको उहाँको गुनासो थियो।
यस्तै पुर्चाैडी नगरपालिका वडा ३ नकालीमा पनि खानेपानी अभाव भएको छ। हिउँद शुरु भएसँगै गाउँमा पनि खानेपानीको समस्या शुरु भएको स्थानीय कर्णबहादुर धाँमीले जानकारी दिए। हिउँदमा सबै पानीका मूल सुकेपछि खानेपानीको हाहाकार भएको हो।
गाउँमा दुईवटा कुवामात्रै भएको र त्यहाँको पानी स्थानीयवासीलाई नै नपुग्ने सोही स्थान निवासी अनिरुद्र जोशीले जानकारी दिनुभयो । वडा नं ३ मा देखिएको खानेपानी समस्या समाधान गर्न गत आर्थिक वर्षमा पुरचौँडी नगरपालिकाले रू तीन लाख ५० हजार उपलब्ध गराएको थियो।
यसैगरी ठूलीगाड सिराड पन्तनकाली खानेपानी योजनाका लागि विनियोजन गरिएको रकम पनि पाइप खरीद र आधाजति पाइप विच्छयाउने काममात्रै भएको उनले बताए। योजना अपुरो भएकाले खानेपानी उपलब्ध हुने स्थानीयवासीको आशा निराशामा परिणत भएको छ।
यस्तै पानीको अभावमा विणेश्वर माविको शौचालय प्रयोग हुन सकेको छैन। यस्तै पानीको अभावमा स्थानीय प्रसूति सेवा केन्द्रले प्रदान गर्ने सेवामा समेत समस्या भइरहेको बताइएको छ। रासस