धनगढीमा स्टिमेटविपरीत नाली निर्माण भइरहेको भन्दै स्थानीयको विरोध
धनगढीः धनगढी उपमहानगरपालिको वडा नम्बर १ मा पर्ने पुरानो विमानस्थलको जग्गा विगतमा सरकारी थियो। तत्कालीन नगर विकास समितिले उक्त जग्गा बिक्री गर्नका लागि सूचना निकालेको थियो। २०५६ सालमा स्थानीय गंगाप्रसाद भट्टले उक्त स्थानमा जग्गा खरिद गरेका थिए। २०५९ सालमा संरचना पनि तयार भयो। त्यो समयमा नगर विकास समितिले सडकको क्षेत्रफल ६५ फिट कायम गरेको थियो। तर अहिले भने भट्टकै घर अगाडिबाट ५२ फिट चौडाइको सहिदगेट क्याम्पस रोड सडक निर्माण भइरहेको छ।
नक्सामा नाली सिधा भए पनि राजनीतिक पहुँच भएकाको घर जोगाउने चलखेल भइरहेको आरोप भट्टको छ। ‘नक्सा विपरीत नाली निर्माण हुँदैछ। पहुँच भएकाको घर जोगाउनका लागि यस्तो भइरहेको छ’ उनले भने। दुवैपट्टी नाली निर्माण भइरहेको उक्त सडकमा यो समस्या अधिकांश ठाउँमा देखिएको छ। विषेशगरी ठूलो राजनीतिक पार्टीसँग आवद्ध भएका व्यक्ति तथा व्यापारीको घर संरचना जोगाउन डिजाइन स्टिमेट विपरीत नाली निर्माण भइरहेको छ। जसकाकारण सोझा स्थानीयको मात्रै जग्गा मासिँदै छ भने संरचना पनि भत्किरहेको छ।
सडक फराकिलो बन्नु राम्रो पक्ष भए पनि डिजाइन स्टिमेट अनुसार नै नाली निर्माण हुनुपर्ने माग स्थानीयको छ। पुरानो विमानस्थलकै स्थानीय नरेन्द्र साउँदको घर अगाडि पनि अर्को पट्टीको जग्गा जोगाउनका लागि नाली बाङ्गो निर्माण हुने देखिएको उनले बताए। ‘हाम्रो मात्रै जग्गा किन मास्ने ? ठूला मान्छेको भने वाल बचाउने काम भइरहेको छ’ उनले भने।
शहिदगेट–क्याम्पस गेट सडकका धेरै स्थानमा सडक क्षेत्राधिकारको विवाद देखिएको छ। उत्तरबेहडी चोक, तारानगर चोक, हसनपुर क्षेत्र, शिवनगर तथा क्याम्पस रोड लगायतका क्षेत्रमा सडक क्षेत्राधिकारको विवादका कारण नाली बाङ्गो निर्माण भइरहेको छ। सडकको क्षेत्राधिकार खाली गर्ने जिम्मा उपमहानगरपालिकाको हो। तर उपमहानगरपालिका आफैले पास गरेको नक्सा अनुसार सडक क्षेत्राधिकार खाली गर्न उदासीन देखिएको छ।
आयोजना कार्यालयले पनि नक्सालाई बेवास्ता गर्दै सडक निर्माण गरिरहेको छ। तर संघीय सरकारको क्षेत्रीय शहरी विकास आयोजना धनगढीका प्रमुख प्रविन शाहले भने सडकको क्षेत्राधिकार खाली गर्ने काम उपमहानगरको भएको बताए। ‘हामीसँग गुनासो पनि आएको छैन। र, यो काम पनि हाम्रो हाइन’ उनले भने।