मौनता तोड्दै यौनजन्य हिंसा पीडित महिलाहरु
१० बर्षे द्धन्द्धका क्रममा १७ हजार भन्दा बढी नेपालीले ज्यान गुमाउनु परेको थियो भने एक हजार चार सय भन्दा बढी वेपत्ता पारिएका थिए। सो क्रममा विभिन्न हिसांमा परेका महिलाहरुले अहिलेसम्म पनि न्याय पाउन सकेका छैनन्। यौन हिसांमा परेका महिलाहरुको दैनिकी त द्धन्द्ध सकिएको १३ बर्ष वितिसक्दा पनि कष्टकर छ। तीनै महिलाहरुले शनिवार डिजिटल कथाकथन, चित्रकला र नाट्य प्रस्तुती मार्फत आफ्नो जीवन गाथा सुनाएका छन्। सशस्त्र द्वन्द्वका बेला तत्कालीन सरकार र विद्रोही माओवादी पक्षबाट अपहरणमा परेका, यातना पाएका, बलात्कृत भएका, लैंगिक हिंसामा परेका थुप्रै महिला छन्। तीमध्ये कतिपय समाज र परिवारले थाहा नपाओस् भनेर आफूमाथि भएको अत्याचार लुकाउन बाध्य छन् त केहि राहत र न्यायका लागि कुरा खुलस्त पार्नेहरु पनि छन्। यौन हिंसा पिडित महिलाहरूको शारीरिक र मानसिक स्वास्थ्य अत्यन्तै नाजुक भएको छ। उनीहरुले द्धन्द्ध सकिएको १३ बर्षसम्म पनि न्यायको अनुभुती नपाएपछि धनगढीमा आफ्ना जीवनगाथा सुनाउँदै सरोकारवाला पक्षलाई दवाव दिएएको आयोजक मध्येको एक ईक्वेल एक्सेसका कार्यकारी निर्देशक उपेन्द्र अर्यालले बताए।
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाह, केहि सासंद, धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, मानव अधिकार र महिला अधिकारकर्मीको उपस्थितिमा डिजिटल कथाकथन, चित्रकला र नाट्य प्रस्तुती हुँदा द्धन्द्धकालमै राज्य र तत्कालीन विद्रोही पक्षले महिलामाथि गरेको हिसांलाई चिरण गरिएको थियो। द्धन्द्धकालमा महिलामाथि हिसां भएपछि अहिलेसम्म न्याय नपाएको विषयलाई पनि झल्काईएको थियो। विस्तृत शान्ति सम्झौतापछि नेपाल सरकारले द्वन्द्व पीडितका लागि भन्दै हालसम्म २० भन्दा बढी निर्देशिका, कार्यविधि, नियम, विनियम ल्याएको छ, तर यौनजन्य र लैंगिक हिंसा पीडितबारे कतै समेटेको छैन्। यसले गर्दा राहत र न्यायको बाटो उनीहरुका लागि बन्द जस्तै छ। उक्त पिडा डिजिटल कथाकथन, चित्रकला र नाट्य प्रस्तुती गर्दा द्धन्द्धकालकै झल्को दिएको थियो।
महिला अधिकार र मानवअधिकारको सवालमा कार्यरत विभिन्न संघ÷संस्थासंगको सहकार्य, धनगढी उपमहानगरपालिकाको सह–आयोजना तथा युएन वुमेन, द्धन्द्धपीडित साझा चौतारी, इक्वेल एक्सेस नेपाल, द स्टोरी किचेन, दिनेश एफएम लगायतका संस्थाको आयोजनामा तोडौं मौनताः अन्त्य गरौं दण्डहिनता कार्यक्रम मार्फत द्धन्द्धपीडित महिलाहरुले आफ्नो जीवनगाथा दिल खोलेर सुनाएका हुन्। शान्ति सम्भौता भएपछि पनि महिलाहरु हिंसा भोग्न बाध्य भएकाले न्यूनीकरणका लागि कार्यक्रमको आयोजना गरिएको द स्टोरी किचेनकी अध्यक्ष जया लुइटेलले बताईन् ।
हिंसा प्रभावित महिलाहरु सामाजिक संरचनाको कारण घर, परिवार र समाजसंग लडाई लड्दै न्यायको खोजीको आफ्नो आवाज सरकार समक्ष सुनाउन खोजिरहेकोले उनीहरुले भोगेको बास्तविक कथालाई समेतेर डिजिटल कथाकथन, चित्रकला तथा नाट्य प्रस्तुती मार्फत आफ्नो जीवनगथा सुनाउने वातावरण सिर्जना गरिएको हो। विगतमा द्धन्द्ध पीडीतहरुको अवस्था मात्रै बाहिर आउने भएकाले सरोकारवाला समक्ष न्यायका लागि पुगाउन सहज होस भनेर कथाकथन, चित्रकला र नाट्य प्रस्तुतीको बाटो रोजिएको हो।
शसस्त्र द्धन्द्धको समयमा पिडित बनेका महिलाहरुको कुनै दोष छैन तर पनि उनीहरु हिंसा, यौन हिंसाको सिकार भए । अवोध महिलाहरु बलात्कृत भए, घाईते भए, कुनै न कुनै रुपमा कुनै नै कुनै पक्षको सिकार भए । लामो समयपछि बल्ल आएर उनीहरु खुल्न थालेका छन् । साहस वोकेर बोल्न थालेका छन् । आफ्ना दुःख पीर भन्न थालेका छन् । उनीहरुको यो कदमलाई सलाम गर्नुपर्ने आवाज पनि बुलन्द भईरहेको छ । अव राज्यले पनि द्धन्द्ध पिडित महिलाहरुका लागि सोच्नुपर्ने वेला आएको छ । प्रदेश सरकार र स्थानीय सरकारले हेर्नुपर्ने वेला भएको छ । सवै जना मिलेर पिडितको घाउमा मलम लगाएर समृद्ध र सुसंस्कृत समाजको निर्माण गनुपर्ने आवस्था देखिएको द्धन्द्ध पिडितहरुका क्षेृत्रका कार्यरत अगुवाहरुको सुझाव छ ।