डाँक सेवा प्रभावित
डोटी–काठमाडौँ डाँक सेवा प्रभावकारी हुन सकेको छैन। यातायात व्यवसायी समितिको लापर्वाहीका कारण सेवा प्रभावकारी बन्न नसकेको हो।
क्षेत्रीय हुलाक निर्देशनालय दीपायलले जिल्लाका यातायात व्यवसायी समितिसँग सेवा सम्झौता गरे पनि सम्झौताअनुसार डाँक सेवा सहज, छिटो र सुरक्षित बन्न नसकेको बताइएको छ। डोटी–काठमाडौँ सिधा बस नहुँदा डाँक सेवा प्रभावकारी बन्न नसकेको क्षेत्रीय हुलाक कार्यालय दीपायलका खरिदार भोजराज पन्तले बताए।
उनले भने, “पहिले डोटीबाट सिधै काठमाडौँ जाने बस थिए, डाँक पनि सिधै जान्थे तर अहिले समितिले बस सेवा हटाउँदा डाँक सेवा प्रभावकारी बन्न सकेको छैन।” काठमाडाँै पठाइने डाँक अहिले क्षेत्रीय हुलाक कार्यालयले कैलालीस्थित सुदूरपश्चिम यातयातको कार्यालय पठाउँदै आएको छ।
त्यहाँबाट अर्को दिनको गाडीमा मात्रै डाँक काठमाडौँ पठाउने व्यवस्था गरिएका कारण समस्या उत्पन्न भएको कर्मचार। सामान्यतया डोटी र आसपासका जिल्लाबाट डाँक तीन दिनभित्र काठमाडौँ पुग्नुपर्ने भए पनि यातायात व्यवसायीका कारण सेवा ढिलो हुन थालेको निर्देशनालयले जनाएको छ। सो डाँक सेवाका लागि क्षेत्रीय हुलाक निर्देशनालयले सुदूरपश्चिम यातायातसँग वार्षिक रु ८६ हजार २५० को सम्झौता गरेको थियो।रासस