अश्लील गाली गर्ने ५ सुगाहरु जसका कारण चिडियाखाना भयो बदनाम !
काठमाडौंः सुगाले गाएको वा मानिसको भाषा बोलेको त सुन्नुभएकै होला। सुगा एउटा यस्तो पंक्षी हो जसले मानिसको भाषा बोल्न सक्दछ। तर मान्छेको भाषा बोल्ने लहडमा पाँचवटा सुगाले बेलायतको एउटा चिडियाखानाको नाक नै काटिदिएका छन्।
बेलायतमा एउटा अनौठो घटना भएको छ। त्यहाँको एक चिडियाखानामा रहेका पाँचवटा सुगाले अश्लील शब्दहरुमा गाली गर्न थालेपछि त्यो चिडियाखाना नै बदनाम हुनपुग्यो। अन्ततः चिडियाखानाले ती सुगालाई त्यहाँबाट हटाउनु परेको छ। ती सुगाले चिडियाखानामा घुम्न आएका मानिसहरु तथा ससाना बच्चाहरुलाई अश्लील शब्दमा गाली गर्दथे। जसका कारण चिडियाखानालाई नै आपत् पर्यो। ती पाँचवटा सुगाहरु यसअघि केही समय एकसाथ क्वारेन्टाइनमा बसेका थिए। क्वारेन्टाइन सकेर आउँदा उनीहरुमा अश्लील बोल्ने अनौठो हर्कत देखियो।
बेलायतको लिंकनशायर वन्यजन्तु पार्क नामक चिडियाखानामा यस्तो घटना भएको हो। अधिकारीहरुले एरिक, जेड, एल्सी, टाइसन र बिली नामका खैरो रङका ती पाँचवटा सुगालाई कारबाही गरेर हटाएका हुन्। चिडियाखानाले ती सुगालाई फरक फरक मानिसबाट लिएका थिए र सार्वजनिक प्रदर्शनमा राख्नु अगाडि केहीदिन एउटै पिन्जडामा क्वारेन्टाइनमा राखेका थिए। क्वारेन्टाइनपछि सारिएका ती सुँगाको बारेमा केही दिनमै मानिसहरुले चिडियाखानाका कर्मचारीहरुसँग गुनासो गर्न थाले।
चिडियाखानाका कर्मचारीका अनुसार अनुसार सुरुमा त यी सुगाले एक आपसमा एक अर्कालाई गाली गर्दथे। तर त्यसपछि उनीहरुले चिडियाखानामा आउने आगन्तुकलाई पनि गाली गर्न सुरु गरे। चिडियाखानाका प्रमुख स्टिभ निकोल्सका अनुसार सुगाको अश्लील गालीका मानिसहरु हैरान थिए। खासगरी चिडियाखाना आउने बच्चाहरुलाई सुगाले अश्लील गाली गर्ने गरेबाट चिडियाखाना थप चिन्तित भयो। सुगाको मुखबाट गाली सुन्दा आगन्तुकहरु झनै हाँस्न थाल्दथे। मान्छेहरु जतिधेरै हाँस्थे सुगाहरुलाई अझै हौसला मिल्दो रहेछ र बढि भन्दा बढि गाली गर्ने गर्दथे।
अधिकारीहरुका अनुसार क्वारेन्टाइनमा एक आपसमा राख्दा ती सुगाले एक अर्काबाटै अश्लील बोल्न सिकेको हुनुपर्दछ। अब ती सुगालाई त्यहाँबाट हटाएर छुट्टाछ्ट्टै पिँजडामा राखिएको छ। यसरी छुट्टाछुट्टै राख्दा उनीहरुले अश्लील गाली बिर्सने विश्वास चिडियाखानाको छ।