सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा बढ्दै जनसंख्या र सवारी साधन, तर झनझन साँघुरिदै सडक

निर्माणाधीन धनगढीको सहिदगेट–क्याम्पस चोक सडक
निर्माणाधीन धनगढीको सहिदगेट–क्याम्पस चोक सडक
२०७८ मंसिर १६, १०:४१ नारायण अवस्थी

धनगढी: धनगढीमा वर्षौ पहिले निर्माण भएका सडकको क्षेत्राधिकार घटाउने काम भइरहेको छ।  वर्षौ पहिले निर्माण भएका सडक सवारी पार्किङ, विभिन्न व्यवसाय र घर निर्माण गरेर साघुँरो बन्न थालेका छन्। जसका कारण धनगढीमा सहज अवागमनमा समस्या हुन थालेको नगरवासीको गुनासो छ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी प्रदेशको प्रमुख व्यापारिक केन्द्र पनि हो। प्रदेशकै प्रमुख सहर भएकाले पनि यहाँ जनसंख्याको चाप दिन प्रतिदिन बढ्दो छ। जनसंख्याको तुलनामा सवारी साधनको चाप पनि बढ्दै गएको छ। सोही बढ्दो चापले धनगढीमा केही वर्ष अघिदेखि सवारी जामको समस्या देखिन थालेको छ। सवारी साधनको संख्या बर्सेनि बढ्ने तर भएका सडकमा अव्यवस्थित पार्किङ, सडकमै हुने व्यापार व्यवसायले साँघुरिदै गएपछि ट्राफिक व्यवस्थापनको विषय पेचिलो बनेको धनगढीका स्थानीय प्रदिप भट्टले बताए। ‘हरेक वर्ष सवारी साधनको संख्या बढ्दो छ। जसका कारण सडकमा गाडी चलाउन निकै समस्या हुन थालेको छ’, उनले भने, ‘सवारी थपिएसँगै सडक पनि चौडा र राम्रो हुनुपर्ने हो तर भएकै सडकको पनि चौडाइ घटाउने काम भएको छ।’

यातायात कार्यालय धनगढीमा पछिल्लो चार वर्षमा मात्रै झण्डै ६१ हजार नयाँ सवारी साधन दर्ता भएका छन्। आर्थिक वर्ष २०७४/०७५ मा १४ हजार ३ सय ९१ सवारी साधन दर्ता भएका छन्। आर्थिक वर्ष ०७५/०७६ मा १५ हजार ८ सय ६७, ०७६/०७७ मा ११ हजार ८ सय २ नयाँ सवारी साधन दर्ता भएकोमा गत आर्थिक वर्षमा भने सबैभन्दा बढी १८ हजार ७ सय ८४ नयाँ सवारी साधन थपिएका छन्। यसरी औसतमा वार्षिक १५ हजार सवारी दर्ता भइरहेका छन्। यहाँ दर्ता भएका अधिकांश सवारी साधन कैलालीका सडकमा गुड्छन्।

हरेक वर्ष साना ठूला सवारी साधन दर्ता हुने क्रम बढेको यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले बताए। ‘हरेक वर्ष यातायात व्यवस्था कार्यालय धनगढीमा सवारी दर्ता हुने संख्या बढ्ने गरेको छ। सबैभन्दा बढी दुई पांग्रे सवारी साधन दर्ता हुने गरेका छन् भने इ–रिक्सा दर्ता हुने क्रम पनि उल्लेख्य छ’ उनले भने। 

वार्षिक रुपमा १५ हजार सवारी साधन बढे पनि स्तरीय सडक बनाउनेतर्फ भने तीनै तहको सरकारको ध्यान गएको छैन। उल्टै स्थानीय सरकारले संरक्षण गरेपछि भएका सडकमा पनि पार्किङ गरेर तथा व्यवसाय सञ्चालन गरेर सडक साँघुरो बनाउने काम भएको छ। 

सडकको क्षेत्राधिकार घटिरहेकाले ट्राफिक व्यवस्थापन झन जटिलता हुँदै गएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए। ‘धनगढीमा साना ठूला सवारी साधन, साइकल र पैदलयात्री सँगसँगै हिड्ने गरेका छन्। साँघुरो सडकमा व्यवस्थापन गर्न समस्या भइरहेको छ। ट्राफिक व्यवस्थापनका लागि सबै पक्षको सकारात्मक सहयोग आवश्यक छ’ उनले भने।

सवारी साधन खरिदको अवस्था हेर्दा निकट भविष्यमै बजार क्षेत्रमा एक व्यक्ति एक सवारी साधन हुने अवस्था आउने देखिन्छ। तर धनगढीमा भने वर्षौ पहिलेको जनसंख्या र सवारी साधनलाई बनाइएको सडक झन साँघुरो बनाउने काम भइरहेको छ। 

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस