अत्यावश्यक कामबाहेक विदेश नजान आग्रह
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ। मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ नेपाल भित्रिन नदिन समयमै सावधानी अपनाउन आग्रह गरेको हो।
केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ। विश्व स्वास्थ्य सङ्गठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी 'भेरियन्ट अफ कन्सर्न' भनी घोषणा गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार यो भेरियन्ट बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ।