सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा मतदाता नामावली सङ्कलन हुँदै, कुन पालिकामा कहिले ?

२०७८ मंसिर १५, ०१:२९ खबर संवाददाता

धनगढीः आगामी स्थानीय तह, प्रदेश र सङ्घीय निर्वाचनलाई लक्षित गरेर जिल्लामा पनि फोटोसहितको मतदाता नामावली सङ्कलन सुरु हुने भएको छ। यही मङ्सिर १७ गतेदेखि सुरु हुने नामावली सङ्कलन दुई चरणमा सञ्चालन हुने जिल्ला निर्वाचन कार्यालयका प्रमुख भानुभक्त भट्टले जानकारी दिए। दुई चरणमा सञ्चालन हुने नामावली सङ्कलन कार्य १० दिनसम्म सञ्चालन हुने बताइएको छ।

दुई नगरपालिका, १० गाउँपालिका रहेको जिल्लामा पहिलो चरणमा मङ्सिर १७ देखि मङ्सिर २६ गतेसम्म जिल्लाका बुङ्गल नगरपालिका, थलारा, खप्तडछान्ना, मष्टा, साइपाल गाउँपालिका र छविसपाथीभेरा गाउँपालिकामा सञ्चालन हुनेछ। दोस्रो चरणमा मङ्सिर २९ देखि पुस ९ गतेसम्म बित्थडचिर, केदारस्यु, दुर्गाथली, सुर्मा र तलकोट गाउँपालिकामा सञ्चालन हुने निर्वाचन कार्यालयले जनाएको छ।

नामावली सङ्कलनका लागि दर्ता कर्मचारी, दर्तास्थल व्यवस्थापक, सहायक दर्ता कर्मचारी र दर्तास्थल सहयोगी रहने व्यवस्था मिलाइएको जनाइएको छ। सम्बन्धित पालिकाको तीन र जिल्ला निर्वाचन कार्यालयबाट एकजना कर्मचारी खटाइने भएको छ। स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली सङ्कलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन्। फोटोसहितको मतदाता नामावली सङ्कलनका लागि आउँदा अनिवार्य रूपमा नेपाली नागरिकताको सक्कलै प्रमाणपत्र ल्याउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ। बझाङमा हालसम्म एक लाख २० हजार ९७१ जनाले भन्दा बढीले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन्।   
 

कमेन्ट लोड गर्नुस