युवाको आवाज बन्दै कैलाली–५ ‘ख’ बाट दीपेश बोहरा विजयी
धनगढी: युवा प्रतिनिधित्व र सामाजिक सेवामा सक्रिय रहँदै आएका दीपेश बोहरा नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. ५ ‘ख’ बाट प्रदेश प्रतिनिधिमा विजयी भएका छन्।
नेपाल विद्यार्थी संघ (नेविसंघ) धनगढी नगर अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका बोहरा लामो समयदेखि युवा केन्द्रित गतिविधि तथा सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। विशेषगरी लागूऔषध नियन्त्रण, रक्त व्यवस्थापन तथा विभिन्न सामाजिक अभियानमा उनले सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
युवाका सवाललाई प्राथमिकताका साथ उठाउँदै आएका बोहराले प्रदेश प्रतिनिधिमा निर्वाचित भएपछि युवाको सहभागिता र नेतृत्वलाई थप प्रभावकारी बनाउने बताएका छन्। उनले युवासँग सम्बन्धित विषयलाई पार्टीको नीति तथा निर्णय प्रक्रियासम्म पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन्।
निर्वाचित भएपछि बोहराले आफूलाई विश्वास गरी मतदान गर्ने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरेका छन्। आगामी दिनमा युवाको आवाजलाई थप सशक्त रूपमा उठाउँदै सामाजिक क्षेत्रमा निरन्तर योगदान गर्ने उनको प्रतिबद्धता छ।
बोहराको विजयलाई कैलाली–५ ‘ख’ मा युवा नेतृत्व र सामाजिक अभियानमा सक्रिय पुस्ताको प्रतिनिधित्वका रूपमा लिइएको छ।