बझाङमा बाढी-पहिरो प्रभावितलाई राहत वितरण
बझाङः खप्तडछान्ना गाउँपालिकामा रहेका ३६ बाढीपहिरो प्रभावित परिवारलाई राहत वितरण गरिएको छ। गैरसरकारी संस्था प्रगतिशील युवासमाज र युएमएन बझाङका साझेदारीमा राहत वितरण गरिएको हो। संस्थाका अनुसार गत कात्तिक महिनाको पहिलो साता आएको अविरल वर्षाका कारण खप्तडछान्ना–१ देखि ७ सम्मका केही घर तथा खेतबारीमा क्षति पु¥याएको थियो।
परिवारलाई संस्थाले प्रतिपरिवार एकबोरा चामल एक बोरा, १० केजी दाल, दुई केजी चिनी, दुई नुहाउने साबुन, दुई लुगा धुने साबुन, एक लिटर तेल, एक पे्रसरकुकर, एक कराई, पाँच थाल, पाँचवटा कचौरा, पाँच गिलास, एक डाडु पन्यु, न्यानो लुगा र त्रिपाल गरी प्रतिपरिवार ६ लाख ४७ हजार रकम बराबरको सामग्री राहतस्वरुप वितरण गरेको थियो। बाढी प्रभावितलाई थोरै भए पनि राहत मिलोस् भनेर संस्थाले खाद्यान्न तथा भाँडाकुडा खरिद गरेर वितरण गरिएको प्रगतिशील युवा समाज र साझेदारीमा सञ्चालित परियोजना संयोजक विष्नाकुमारी बमले जानकारी दिए।
उनले भने, “हामीले खासै ठूलो सहयोग गरेका त होइनौँ। तर पनि बाढी र पहिराले बनाएको घाउमा थोरै भए पनि मल्हम लाग्छ कि भन्ने हो।” संस्थाले यसअघि कोरोना महामारीमा रोजगारी नभएका तथा एकल महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरुलाई समेत विभिन्न राहत सामग्री वितरण गरेको थियो।