सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेशमा सशक्त काँग्रेस बनाउन मेरो उम्मेदवारीः नरनारायण शाह

२०७८ मंसिर १४, ०५:४४ खबर संवाददाता

धनगढी: नेपाली काँग्रेसको आसन्न प्रदेश अधिवेशनमा कैलाली काँग्रेसका सभापति नरनारायण शाह ‘मनु’ले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शाहले दुई कार्यकाल कैलाली काँग्रेसको नेतृत्व सम्हालिसकेका छन्। 
सुदूरपश्चिमको सबैभन्दा ठूलो कैलाली जिल्लाको संगठन चलाएको अनुभवले काँग्रेसको प्रदेश सभापति भएर सहज संगठन हाक्नसक्ने दाबी उनले गरेका छन्। दिनेशखबरको नागरिक सवाल कार्यक्रममा कुराकानी गर्दै शाहले अन्य उम्मेदवारभन्दा पार्टीका लागि सुदूरपश्चिममै रहेर काम गर्नसक्ने एक मात्र व्यक्ति आफू रहेको बताएका छन्।

‘मेरो घरायसी बाध्यता र व्यक्तिगत चाहनाले पनि कैलाली छाडेर राजधानी बस्न मिल्दैन। प्रदेशमै बसेर पार्टीको संगठन निर्माण गर्ने, संगठन मजबुद बनाउने कुरामा खटिएर लाग्नसक्ने क्षमता र लगनशीलता अन्य उम्मेदवारको तुलनामा मेरो बढी छ। उनले भने, ‘नेतृत्व लिन मात्रै होइन काँग्रेसको उपस्थिति अर्थपूर्ण यसकारण छ भनेर प्रमाणित गरेर देखाउन पनि मैले सभापति हुन चाहेको छु।’ उनले सजिलै निर्वाचन जित्ने समेत बताएका छन्। 

शाहले आफूलाई सबै जिल्लाका नेता तथा प्रतिनिधिले सहजै मतदान गर्ने बताउँदै सबै नेतासँग छलफल गरेर सहमतिमा नेतृत्व चयन गर्ने प्रयाससमेत हुने बताए। प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरु दिलेन्द्र बडू, एनपी साउँद, रमेश लेखक र जिल्लाका अन्य नेता कार्यकर्ताको सद्भाव र सहयोग रहने शाहको विश्वास छ। 

साथै उनले २०१५ सालदेखि नेपाली काँग्रेका लागि लडेको परिवारको तेस्रो पुस्ताको सदस्य भएकोले आफूले पार्टी र नेता कार्यकर्तालाई न्याय गर्नसक्ने दाबी गरेका छन्। काँग्रेसलाई प्रदेशका सबै स्थानीय तहहरुमा संगठित गर्न, सशक्त बनाउन र प्रदेशभर काँग्रेसको अवस्था २०४८ को जस्तो बनाउन उम्मेदवारी घोषणा गरेको उनको भनाई छ। 

कमेन्ट लोड गर्नुस