सुर्मादेवी(बझाङी) समाजको सुरुवात कहिले र कसरी भयो ?
धनगढी: विस २०४० सालतिर धनगढीमा बस्ने केही दाजुभाइहरु तथा अग्रजहरु मिलेर बझाङबाट आउनुभएका बझाङीहरुको समस्याको विषयमा छलफल भयो। त्यसपछि २०४१ सालमा म कैलाली बहुमुखी क्याम्पसमा अध्ययनको लागि गए र त्यहाँ पनि यस्ता विषयमा छलफलहरु भए। र, विस २०४७ सालमा जाखोरबाबा तालमा बृहतरुपमा बनभोज कार्यक्रम भयो।
सो भेलाले अब संगठित भए अगाडि बढ्नुपर्छ भन्यो। ६१ जनाको तदर्थ समिति बनाएर समिति सुरु भएको हो। औपचारिक रुपमा प्रशासनमा दर्ताको कुरा गर्दा भने २०४८ असोज ५ गते देखि बझाङी समाजको सुरुवात भएको हो।
संस्थापक अध्यक्षमा डा. गणेशबहादुर सिंह रहेका थिए। समाजको स्थापना पछि भने हामीले तीन वर्षसम्म निष्क्रिय जस्तै भएर बस्नुपर्यो। डा.सा‘पको व्यस्तता रहने, सचिव ज्यूको पनि व्यस्तता। लगभग समाजमा आबद्ध सबैजसो आफ्नै काममा व्यस्त रहन थालेपछि ठूला कार्यक्रम हुन सकेनन्। तर पनि सानातिना कार्यक्रम, अप्ठ्यारोमा परेकाहरूलाई सहयोग गर्ने आदि काम भने भइरहेका थिए।
फेरि विस २०५१ सालमा समितिमा विद्यार्थीहरुको उपस्तिथि बढ्न थाल्यो। ती साथीहरूको अवाज आउन थाल्यो अग्रजहरुले संस्था सुरुवात गर्नु भयो अब यसलाई हामीले सक्रिय बनाउनुपर्यो भनेर। उहाँहरुले प्रयास पनि गर्नुभयो।
गोकुल जोशी, देबराज जोशी लगायतका युवा साथीहरूले त्यो समयमा विभिन्न कार्यक्रम ल्याएर संस्थालाई सक्रियतामा ल्याउनुभयो। र, सुरुमा रहेको नाम सुर्मालाई देवी थपेर सुर्मादेवी बनाउनुभयो। गोकुलजी अध्यक्ष रहेको त्यो समयमा समाज सक्रिय नै थियो तर जब उहाँ आफ्नो कामको लागि बझाङ जानुभयो अनि संस्थाले पनि सक्रियता गर्न सकेन।
अध्यक्ष नै यहाँ नभएपछि संस्था सक्रिय भएन। त्यसपछि अरु विभिन्न साथीहरूले पनि समय समयमा जागरण ल्याउदै अध्यक्ष हुनुभयो। र, २०६५ सालदेखि मैले अध्यक्षको जिम्मेवारी पाए।
संस्थाको सुरुवातदेखि नै म सक्रिय रुपमा रहेको सदस्य भएपनि अध्यक्षकै जिम्मेवारीमा आ पछि केही काम गर्ने प्रयास गरे। आफ्नो पारिवारिक जिम्मेवारी र कामको व्यस्तताले सोचे जस्तो सक्रिय त बनाउन नसकेको हुँला तर पनि प्रयास भने मैले गरिरहेको हुन्छु।
कसैलाई समस्या पर्दा समाजको तर्फबाट म पुग्ने प्रयास गरिरहेको हुन्छु। पछिल्लो समय बाढीपहिलो कारण बझाङमा भएको क्षतिमा केही भएपनि सहयोग गर्न सकिन्छ कि भनेर सहयोग संकलन अभियान चलाएका छौं। रगतदान, सांस्कृतिक कार्यक्रम आदि पनि समाजले गर्दै आइरहेको छ।
(सुर्मादेवी(बझाङी) समाजका अध्यक्ष दिलबहादुर खातीसँग गरिएको कुराकानी आधारित।)