भारतीय सीमा बजारबाट धनगढीमा हुने तस्करी बढ्यो
धनगढी: भारतीय सीमा बजारबाट धनगढी उपमहानगरमा हुने तस्करी बढ्दै गएको आरोप लागेको छ। त्रिनगर नाका बाहेकका अन्य अवैध नाकाबाट उपमहानगरपालिकामा तस्करीको सामान खुलेआम भित्रिन लागेको हो।
धनगढी उपमहानगरपालिका वडा नम्बर २, ९, १०, १८ र १९ का विभिन्न ठाउँबाट तस्करी बढ्न थालेको स्थानीयले बताएका छन्। सीमा क्षेत्रको विभिन्न ठाउँमा हरेकदिन बिहान ४ बजेदेखि साढे ६ बजे र साँझ ७ बजेपछि १० बजेसम्म भारतबाट विभिन्न सामान तस्करी हुने गरेको स्थानीयले आरोप लगाएका छन्।
कृष्णनगरका वीरेन्द्र भाटले प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको आरोप लगाए। ‘प्रहरी प्रशासनकै मिलेमतोमा भन्सार राजश्व छलेर तस्करी हुने गरेको छ’ उनले भने, ‘घरायसी प्रयोगका लागि तोकिएको मात्रामा दैनिक उपभोग्य सामग्री ल्याउन पाउने भए पनि तस्करहरुले भने ठूलो परिमाणमा विभिन्न सामग्री राजश्व छलेर भित्र्याउदै आएका छन्।’
सीमा सुरक्षा तथा चोरी तस्करी रोक्न सीमा क्षेत्रमा सशस्त्र प्रहरीका बोर्डर आउटपोष्ट राखिएका छन्। तर पनि तस्करी रोकिएको छैन। यता सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवरले भने तस्करी हुने गरेको गुनासो आफू कहाँ नआएको बताए। ‘हामीले निरन्तर गस्ती गरेका हुन्छौँ। बोर्डर आउटपोष्टबाट निरन्तर निगरानी हुने गरेको छ। म कहाँ अहिलेसम्म गुनासो आएको छैन’ उनले भने।
सशस्त्र प्रहरीका अतिरिक्त नेपाल प्रहरीले पनि चोरी तस्करी नियन्त्रण गर्न जनशक्ति परिचालन गरेको छ। सीमा क्षेत्रबाट हुने तस्करी रोक्न सादा पोशाकका प्रहरी खटाइएका हुन्छन्। तर तस्करी भने कहिल्यै नथामिएको गुनासो सीमा क्षेत्रका बासिन्दाले गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेद जोशीले सर्वसाधारणको गुनासो आएको ठाउँमा निगरानी बढाउने दाबी गरेका छन्।
तस्करी गरेर ल्याइने सामान गुणस्तरहिन हुनेभएकोले जनस्वास्थ्यमा त्यसले असर पार्ने चिन्ता गरिएको छ। साथै हरेक महिना करोडाैँ राजश्व राज्यले गुमाउने गरेको छ भने तस्कर समूहले लागुऔषधलगायतका प्रतिबन्धित सामान पनि भित्र्याउने गरेका छन्।