सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन्तला बजारले भरिएका सुदूरका राजमार्ग

२०७५ पुष १३, ०४:४० नवराज पनेरु

महाकाली राजमार्ग अन्तर्गतको धनगढी–डडेल्धुरा भिमदत्त पन्त राजमार्गको बुढितोला पुग्दा अहिले नयाँ बजार देखिन्छ। अन्य मौसममा होटेल र केहि किराना पसल मात्रै देखिएपनि अहिले भने सुन्तला व्यवसायीहरुले आफ्नो छुट्टै बजार बनाउका छन्। ठेलाहरुमा सजाईएर राखिएका सुन्तलाले सो क्षेत्रलाई छुट्टै सौन्दर्य बनाईदिएको छ। भिमदत्त पनत राजमार्ग अन्तर्गत नै बुढीतोला पछि आउने बजार हो खानीडाडाँ। खानीडाँडामा पनि अहिले धेरै होटल व्यवसायीदेखि किराना पसलेहरुले पनि सुन्तलाको व्यापार गरिरहेका छन्। उनीहरुले आ–आफ्नो होटल पसलको अगाडी किसानहरुबाट सुन्तला खरिद गर्दै व्यापार गरिरहेका हुन्। 

सुदूरपश्चिममा सुन्तलाको उत्पादन र व्यापारलाई झल्काउने बजार सहजपुर पनि हो। सहजपुरमा निगालीका सुन्तालाको कारोवार हुन्छ। हुन त सहजपुरमै पनि सुन्तलाको उत्पादन राम्रो हुने गरेको छ तर निगालीका सुन्तला देशमै प्रख्यात भएकाले निगालीका सुन्तला भएको भन्दै कारोवार गरिदै आएको छ। धनगढीबाट सहजपुर जाँदा सहजपुरको पहिलो बजारपछि आउने दोश्रो बजार पुग्न अगाडी अहिले नयाँ बजार खोलीएको छ। त्यो पनि सुन्तला बजार नै हो। ७, ८ वटा सुन्तला विक्रीका लागि राखिएका ठेलाहरुमा अहिले ग्राहाकहरुको भिडभाड नै हुने गरेको छ। यस्तै कैलालीकै फल्टुडेमा पनि अहिले सुन्तलाको व्यापार बढेको छ। 

सुन्तला विक्री गर्न गाडीवालालाई कमिसन
अहिले भिमदत्त राजमार्गका धेरै स्थानमा सुन्तलाको कारोवार हुने गरेको छ। उनीहरुबाट सुन्तला खरिद गर्ने भने यात्रुहरु मात्रै हुन्। त्यसैले आफ्नो सुन्तला बजार चलाउनका लागि सुन्तला व्यवसायीहरुले कमिसन पनि दिने गरेका छन्। उनीहरुले आफ्नो सुन्तला बजारको अगाडी गाडी रोक्ने सहमतीमा गाडीवालालाई कमिसन दिने गरेका हुन्। सहजपुरमा सुन्तला विक्री गर्दै एक महिलाले भनिन् ‘आज त गुरु जीलाई सुन्तला दिने होईन ?’ मैले सोध किन ? उनले फेरी भनिन् ‘आज गुरु जिले अर्कैको सुन्तला पसल अगाडी गाडी रोके मेरो कारोवार नै भएन, त्यसैले आज सुन्तला नदिने’। उनका अनुसार आफ्नो सुन्तला पसलको अगाडी गाडी रोके वापत गाडीवालालाई निशुल्क सुन्तला दिनपर्ने हुन्छ। कसैले भने नगद पनि लिने गरेका छन्। विगतमा होटेल व्यवासयीसंग यसरी नै कमिसन माग्दै गरेका गाडी चालकहरुले अहिले सुन्तलाको कारोवारमा पनि सोही परिपाटी लागु गरेका हुन्। 

किसानले पाउँदैनन उचित मुल्य
भिमदत्त राजमार्ग अन्तरगत कैलालीको बुढीतोला, खानीडाडाँ, सहजपुर र फल्टेडामा सुन्तलाको कारोवार फरक–फकर मुल्य अनुसार भईरहेको छ। सुन्तला अनुसार ६० देखि एक सय रुपैया सम्म प्रतिकिलो विक्री हुँदै आएको छ। तर सुन्तला विक्री गर्नेमा किसानको सङख्या भने नगन्य छ। किसानहरुले राजमार्ग सम्म सुन्तला पुगाईदिने र त्यसपछि व्यापारीहरुले विक्री गर्दै आएका छन्। व्यापारीहरुले प्रतिकिलो १० देखि ३० रुपैया सम्म नाफा खाएर सुन्तला विक्री गर्दै आएका छन्। सुन्तलाको कारोवार बढि भएपनि उचित मुल्य भने नपाएको किसानहरुको गुनासो छ।

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस