सुदूर नेपाललाई विश्वसँग जोड्दै

सेतीमा लिक्विड अक्सिजन प्लान्ट जडान : फिलिङ स्टेसन नहुँदा समस्या

२०७८ मंसिर ९, ०८:३२ नारायण अवस्थी

धनगढी: सेती प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भए पनि फिलिङ स्टेसन नहुँदा समस्या भएको छ। प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट भदौ २१ गते जडान भए पनि अक्सिजन सिलिण्डर भर्न आवश्यक पर्ने फिलिङ स्टेसन र म्यानिफोल्डर जडान भने अझै नभएको हो।  

अस्पतालमा भदौ २१ गते लिक्विड अक्सिजन प्लान्ट जडान भएको थियो। तर प्लान्ट जडान भएको ११ हप्ता पुग्दा पनि अतिआवश्यक उपकरण जडानको कार्य गरिएको छैन। स्वास्थ्य सेवा विभागले खरिद गरेर पठाएको २ हजार लिटर क्षमताको प्लान्टबाट खाली सिलिण्डर भर्न सकिने भए पनि फिलिङ स्टेसन र म्यानिफोल्डर जडान नगरिँदा अस्पतालसँग रहेका ५ सय ७५ सिलिण्डर रित्तै थन्क्याएर राखिएको छ।

तर सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले भने लिक्विड प्लान्टबाट सबै वार्डमा अक्सिजन पुगाएकोले अहिले कुनै समस्या नरहेको बताए। 'सेतीमा लिक्विड अक्सिजन प्लान्ट जडान भएपछि अहिले त्यसैबाट नै अक्सिजन सप्लाइ भइरहेको छ,' उनले भने, 'लिक्विड प्लान्टमा फिलिङ स्टेसन जडान गर्ने काम कम्पनीले तिहारपछि गर्ने भनेको हो, तर पनि अक्सिजनको समस्या छैन।'

सेती प्रादेशिक अस्पतालका लागि स्वास्थ्य सेवा विभागले गरेको टेण्डर, काठमाण्डौँको शंकर अक्सिजन ग्याँस प्रालिले प्राप्त गरेको थियो। भदौमा प्लान्ट जडान गर्दा तिहार लगत्तै फिलिङ स्टेसन र म्यानिफोल्डर जडान गर्ने बताएको कम्पनीले अझै ती उपकरण जडान गरेको छैन। जसको कारण अस्पतालमा खाली सिलिण्डर थन्किएका छन् भने माइनस १ सय ८४ डिग्री तापक्रममा रहने लिक्विड अक्सिजन प्लान्ट रहेको स्थानमा आवश्यक सुरक्षा सावधानिका काम नगरिँदा ग्याँस चुहावटको जोखिम समेत रहेको छ।

तर शंकर अक्सिजन ग्याँस प्रालिका सम्पर्क व्यक्ति शम्भु भण्डारीले भने उपकरण जडानमा अझै एक महिनाभन्दा बढी समय लाग्ने बताए। 'हामीले सेती अस्पतालमा प्लान्ट जडान गरेका छौँ,' उनले भने 'केही उपकरण जडान गर्न बाँकी छ त्यो पनि एक महिना भित्रै जडान गरिने छ।'

सेती प्रादेशिक अस्पतालमा दोस्रो लहरको कोभिड संक्रमण उत्कर्षमा रहेका बेला अक्सिजनको चरम अभाव भएको थियो। अस्पतालमा एउटा अक्सिजन प्लान्ट रहेको भए पनि त्यसबाट दैनिक बढीमा ६ सिलिण्डर मात्रै भर्न सकिएको अस्पतालले जनाएको थियो। अहिले लिक्विड प्लान्टबाट सिधै पाइप जोडेर अक्सिजन वार्डहरुमा पुगाइएको छ। तर भैपरी आउँदा बिरामीलाई सिलिण्डरबाट अक्सिजन आवश्यक परे समस्या हुने भएको छ। अस्पतालमा अत्यावश्यक पर्न सक्ने सम्भावनालाई हेरेर सम्पूर्ण सिलिण्डरमा अक्जिजन भरेर राख्नुपर्ने भएपनि कोभिड अस्थायी अस्पताल परिसरमा ५ सय बढी खाली सिलिण्डर राखिएका छन्।

अस्पतालाका सूचना अधिकारी श्रेष्ठले अहिले अस्पतालमा खाली सिलिण्डर भएपनि उपचारमा समस्या नभएको दाबी गरेका छन्। सेती प्रादेशिक अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट जडान भएपछि थप दुई अक्सिजन प्लान्ट पनि जडान गर्ने काम भइरहेको छ। कोभिड अस्थायी अस्पताल र लिक्विड अक्सिजन प्लान्ट नजिकै एकर एक नयाँ प्लान्ट जडान हुने बताइएको छ। तर लिक्विड अक्सिजन प्लान्ट जडान भएको ११ हप्ता पूरा भए पनि प्लान्टमा आवश्यक उपकरण फिलिङ स्टेसन र म्यानिफोल्डर जडान हुन नसक्दा अस्पतालका ५७५ सिलिण्डर रित्तै थन्क्याइनुका साथै अक्सिजन चुहावटले दुर्घटना हुने जोखिम बढेको छ।

नारायण अवस्थी दिनेश खबरका सहायक सम्पादक हुन्। उनले शिक्षा, स्वास्थ्य र कृषि विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस