अछाममा काँग्रेसको निर्वाचन: ३ प्रदेशसभामा नयाँ नेतृत्व चयन
एकेन्द्र खत्री, अछाम: नेपाली काँग्रेस अछामले ३ प्रदेशमा नयाँ नेतृत्व निर्वाचित गरेको छ। ४ प्रदेशसभा रहेको अछाममा प्रदेशसभा नम्बर २ को १ र २ मा मतदानबाट र प्रदेशसभामा नम्बर १ को १ मा सहमतिमा नयाँ कार्यसमिति चयन गरिएको हो।
अछाम–२ को १ मा ताराप्रसाद खनाल सभापतिमा निर्वाभित भएका छन्। खनालले २ सय ४४ मत ल्याए भने उनका प्रतिद्वन्द्वी कर्णबहादुर बुढाले १२४ मत ल्याएको काँग्रेस अछामका प्रवक्ता वेदप्रकाश तिमिल्सेनाले जानकारी दिए।
कार्यसमितिको उपसभापति सचिव र सहसचिव खनाल नेतृत्वकै टिमले पाएको छ। खनाल नेतृत्वमा अछाम–२ को १ मा उपसभापति कर्ण वयक र खडकबहादुर विष्ट, सचिवमा केशवराज तिमिल्सेना र दीपक न्यौपाने र सहसचिवमा प्रकाश विक र प्रेमबहादुर शाही निर्वाचित भएका छन्।अछाम–२ को २ मा रविन्द्रबहादुर शाही सभापतिमा निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी पूर्णबहादुर रावललाई १४१ मतमा सिमित गरेर शाहीले २९१ मत प्राप्त गरेका थिए। त्यस क्षेत्रमा समेत शाहीकै नेतृत्वको टीम विजयी भएको बताइएको छ।
चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिका जोडिएको अछाम–१ को १ मा महेश खड्का सहमतिका आधारमा सर्वसम्मत सभापतिमा चयन भएका छन्। अछाम–१ को २ मा आइतबार उद्घाटन गरिएकाले सोमबारबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने नेपाली काँग्रेस अछामले जानकारी दिएको छ। उक्त प्रदेशको कार्यसमिति सभापतिमा ४ जना आकांक्षी रहेको बताइएको छ।
नेपाली काँग्रेस अछामले यसअघि ९१ वटै वडा र १० वटै स्थानीय तहमा सहमतिका आधारमा कार्यसमिति र प्रतिनिधि छनोट गरेको थियो।