सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली कारागारबाट निस्कीने दिसापिसाब धनगढीका बस्तीमा

२०७८ मंसिर ४, ११:०४ कमल सावद

धनगढीः जिल्ला कारागार कैलालीबाट निस्कने ढल वर्षौदेखि धनगढीका बस्तीमा गइरहेको पाइएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा पर्ने कारागारको ढल सिधै बस्तीतर्फ फालिएको छ। यतिसम्म की कारागारका ५ सय कैदी, कर्मचारी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सबै शौचालयको दिसापिसाब सिधै बस्तीमा बग्ने गरेको पाइएको छ।  

कारागारबाट निस्कने फोहोरले धनगढी उपमहानगरपालिकाको त्रिवेणी चोकका स्थानीय हैरान छन्। दिसापिसाब र सरसफाई गरेको फोहर निरन्तर आउने भएकाले बस्तीमा बस्नै समस्या भएको स्थानीयले गुनासो गरेका छन्। स्थानीय पार्वती खरेलले साँझ र बिहानको सयममा बढी समस्या हुने गरेको बताइन्। ‘पहिला यस्तो समस्या थिएन। ६/७ वर्ष भयो समस्या बढ्दै गएको छ। साँझ र बिहान बस्नै सकिदैन्। हामीले खेती पनि लगाउन सकेका छैनौं’ उनले भनिन्। 
कारागारका शौचालयमा सेफ्टी ट्याङकी नहुँदा फोहरसँगै दिसापिसाब ढलमा बग्ने गरेको खरेलले बताइन्। ‘मैले उपमहानगरपालिकामा निवेदन दिएकी हुँ। वडाध्यक्षको टेबलमा पत्र दिए तर समस्या समाधान भएन’ उनले दिनेशखबरसँग भनिन्, ‘छोरीले जेलर सा‘पलाई पनि भेटिन् तर समस्या समाधान भएन।’ 

जिल्ला कारागार कैलालीको दक्षिण र जिल्ला अदालतको पश्चिम क्षेत्रको व्याक्तिगत जमिनमा वर्षौदेखि ढल फालिँदै आएको छ। बर्सातको समयमा उक्त क्षेत्रको दिसा बग्ने भएपनि सुख्खायाममा नबग्ने हुँदा झनै समस्या भएको छ। बिहान र साँझको समयमा स्वास फेर्न पनि समस्या हुदै आएको गुनासो स्थानीयको छ। जिल्ला कारागार कैलालीको ढलका कारण उक्त क्षेत्रका स्थानीयले आफ्नो जमिन बाँझो छाडेका छन्। 

नैनादेवी चोक (हुलाकको दक्षिक) क्षेत्रको फोहर ढलसमेत जिल्ला अदालतको पश्चिम हुँदै त्रिवेणी चोक क्षेत्रमा छोडिएको छ। उक्त पानी र कारागार भित्रको फोहरले स्थानीय आजित भएका छन्। स्थानीय ज्योति चौधरीले रातिको समयमा सुत्न पनि समस्या हुने गरेको बताइन्। ‘गन्ध आउछ, सुत्नै सकिँदैन्। कारागारको फोहोरका कारण खेती पनि भएको छैन्,’ उनले भने।

वर्षाैदेखि उत्त क्षेत्रमा शौचालयको फोहार फालिँदै आएको भएपनि जिल्ला कारागारसँग व्यवस्थापनको कुनै योजना छैन। जिल्ला कारागार कैलालीमा स्थानीयले पटक–पटक व्यवस्थापनका लागि आग्रह गर्दै आएका छन। तर कारागार योजना नभएको भन्दै पन्छिने गरेको छ। जिल्ला कारागार कैलालीका निमित्त जेलर वीरेन्द्र बोहराले कारागारसँग रकम नहुने भएकाले व्यवस्थापन गर्न नसकिएको बताए।

‘ढलका कारण स्थानीय हैरान भएका छन्। उहाँहरुले गुनासो पनि गर्दै आउनुभएको छ। तर हामीसँग रकम हुँदैन्। गुनासोमाथि पठाउने काम मात्र भएको छ,’ उनले भने।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस