सुदूर नेपाललाई विश्वसँग जोड्दै

मालपोत कार्यालय कैलालीमा सेवा लिनै मुस्किल, ४ दिनसम्म धाउँछन् सेवाग्राही

२०७८ मंसिर १, ०६:२८ कमल सावद

धनगढीः बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ९ जुवापानीका मिनबहादुर सिँह मालपोत कार्यालय धनगढीमा धाउन थालेको ४ दिन भयो। बुधवार दिउँसो पनि राजश्व बुझाउन उनी कार्यालय परिसरको बैँक लाइनमै थिए। बैँकको सेवा अति ढिला भएको  गुनासो सिँहको छ। ‘चार दिन भएको छ। अझै काम पूरा भएको छैन। सारै हैरान हुने रहेछ’ उनले भने।

सिंह जस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर १९ फूलबारीकी तुलसी पार्की पनि हैरान छिन्। उनलाई पनि मालपोत कार्यालय आउन थालेको ३ दिन भएको छ। बुधवार पनि उनको काम पूरा भएन। मालपोत कार्यालयको सेवाले हैरान बनाएको गुनासो उनको पनि छ। उनले भन्छिन्, ‘एक काम पटकपटक गराउन लगाउँछन्। काम सारै ढिलो गर्छन्।’

यसैगरी मालपोत कार्यालय कैलालीको सेवा लिन ४ दिन लाग्दै आएको गुनासो सेवाग्राहीले गरेका छन्। घरजग्गाको कारोबार बढी हुने कैलालीमा मालपोत कार्यालयको सेवाले हैरान बनाएको उनीहरुको धारणा छ। सेवाग्राहीले मालपोत कार्यालय परिसरमा रहेको एनआइसी एसिया बैँकमा सबैभन्दा बढी समय लाग्दै आएको गुनासो गरेका छन्। मालपोत कार्यालयले पनि बैँकले कर्मचारी घटाउँदा समस्या भएको जनाएको छ। 

कर्मचारी कम र सेवाग्राही बढी भएकाले सेवा सुस्त भएको मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीले बताए। उनले भने, ‘बैँकमा तीन जना कर्मचारी थिए। अहिले दुई जना मात्र छन्। तिहारपछि सेवाग्राही बढेका छन्। अब कर्मचारी थप्छन् होला।’ उनले कार्यालयको सेवा छिटोछरितो गर्न पहल गर्दै आएको दाबी गरे।


 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस