छानविन समितीद्धारा प्रतिवेदन प्रेस, निर्वाचनको प्रक्रिया अगाडी वढाउन निर्देशन
कैलाली उद्योग वाणिज्य संघको सदस्यता विवाद
कैलाली उद्योग वाणिज्य संघको सदस्यता छानविन गर्दै छानविन समितीले जिल्ला प्रशासन कार्यालय कैलालीलाई आज प्रतिवेदन पेस गरेको छ । प्रशासन कार्यालयकै प्रशासकीय अधिकृत विकास लम्सालकोे नेतृत्वमा रहेको छानविन समितीले छानविनको काम सकेर आज प्रतिवेदन पेस गरेको हो । संघको सदस्य वन्नका लागि सुचना जारी गरेकोमा तीन हजार दुई सय जना व्यवसायीले सदस्यताका लागि आवेदन दिएका थिए तर उनीहरुमध्ये चार सय १९ जनाले माग गरेका आवश्यक कागजात नबुझाएकोले उनीहरु सदस्य हुन पाएनन् । अव दुई हजार सात सय २५ जना संघको सदस्य बनेका छन् । उनीहरुले संघको अवको निर्वाचनामा भोट हाल्न पाउने भन्दै प्रतिवेदन प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठलाई बुझाईएको छ ।
प्रतिवेदन पाएपछि प्रमुख जिल्ला अधिकारी श्रेष्ठले प्रतिवेदन निर्वाचन समितिलाई हस्तान्तरण गर्दै प्रक्रिया अगाडी वढाउन निर्देशन दिएका छन् । आवश्यक प्रक्रिया अनुसार निर्वाचनलाई चाँडो गर्नका लागि छानविन समितीलाई भनेको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए । प्रशासन कार्यालयकै प्रशासकीय अधिकृत यादव भण्डारीको संयोजकमा निर्वाचन समिती बनाईएको छ । समितिले पनि अव चाँडो काम थाल्ने जनाएको छ ।
यसअघि गत वैशाख २२ गते हुन लागेको संघको साधारण सभा उच्च अदालत दिपायलको आदेशपछि रोकिएको थियो । उच्च अदालतले प्रशासनलाई नक्कली सदस्यताको समस्या समाधान गर्नका लागि भनेपछि प्रशासनले सदस्यता छानविन र निर्वाचन समिती बनाएको थियो । यसअघि हुन लागेको साधारण सभामा ५ हजार ९ सय ९० जना कैलाली उद्योग वाणिज्य संघको सदस्य रहेकोमा अव भने दुई हजार सात सय २५ जना मात्रै संघको सदस्य बनेका छन् ।