सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वैधानिक रुपमा सुकेका रुख काट्न बेवास्ता, रातारात पारिन्छ गायब

२०७८ कार्तिक २६, ०६:२० कमल सावद

धनगढीः बिहीवार रातिदेखि धनगढीको देवहरिया क्षेत्रमा विद्युत सेवा अवरुद्ध भयो। विद्युत सेवा अवरुद्ध हुनुको कारण खोज्दै जाँदा बिजुलीको तारमा सालको रुख खसेको फेला प¥यो। त्यसपछि अवैध रुपमा रुख कटानीको तथ्य बाहिरिएको छ। 

उक्त क्षेत्रमा दैनिक जसो सालका रुख कटानी हुँदै आएको स्थानीयले बताएका छन्। शुक्रबार बिहान उनीहरु भन्दै थिए, ‘यो क्षेत्रमा धेरै रुख रातिको समयमा काटिएका छन्। काटिएका रुखको कुनै गणना हुँदैन्।’

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा सुकेका रुख वर्षौसम्म वैधानीक रुपमा कटानी नहुँदा चोरी तस्करी बढेको हो। डिभिजन वन र सव डिभिजन वन कार्यालयले रुख कटानीका लागि वास्ता नगर्दा सुकेका रुख कटानी गर्दै चोरी तस्करी हुँदै आएको पाइएको छ। 

सुकेका सालका रुख देवहरिया क्षेत्रका स्थानीयका घर तथा खेतमा छन्। स्थानीयले घरमा रुख खस्ने भन्दै रातिको समयममा रुख कटानी गर्दै आएका छन्। तर रुख कटानी गर्दै आएका स्थानीयले सामुदायिक वनलाई काठ दिएको दाबी गरेका छन्। उनीहरुले भने, ‘ढलेको रुख काटेका हाैँ। सबै सामुदायिक वनमा पुगाएका छाैँ’

देवहरिया क्षेत्रमा सालको काठ तस्करी हुँदै आएको भन्दै स्थानीयले बिरोध गरेपछि शुक्रबार बिहान प्रहरी, सामुदायिक वनका पदाधिकारी तथा वनका कर्मचारी पुगेका थिए। उनीहरुले पनि अवैध रुपमा रुख कटानी हुँदै आएको देखिएको बताएका छन्। सृजना महिला समितिका अध्यक्ष सरस्वती चन्दले सामुदायिक वन क्षेत्र बाहिरका रुख कटानी हुँदै आएको बताइन्। उनले भनिन्, ‘हामीलाई रुख कटानी भएको जानकारी भएन। ढलेको रुख पनि काट्नु भनेका छैनौँ। कुनै पत्र पनि दिएका छैनौँ। तर उहाँहरुले फसाउन समितिमा काठ फालेका छन्। हिजो काटिएको रुखको बारेमा पनि जानकारी छैन।’

वन क्षेत्रमा घर तथा भवन निर्माण गर्दा पनि रुख कटानी हुँदै आएको छ। सामुदायिक वन क्षेत्र बाहिर पनि चोरी तस्करी हुँदै आएको हो। रुख कटानी तथा तस्करीमा संलग्न भएको भन्दै चार जनालाई पक्राउ गरिएको छ। तर डिभिजन वन कार्यालय धनगढीका सूचना अधिकारी डवलबहादुर बोहराले सो बारेमा जानकारी नभएको प्रतिकृया दिए। धनगढीका विभिन्न टोलहरुमा सुकेका सालका रुखका कारण दुर्घटनाको जोखिम छ। तर वैधानीक रुपमा रुख कटानी नहुँदा चोरी तस्करी हुँदै आएको हो। 
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस