देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि
काठमाडौँ: देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ११ हजार ६६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो।
यससँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १६ हजार ४१५ पुगेको छ। एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ३७ जना रहेको छ। आज ३८९ जना निको भएका छन्। यससँगै निको हुनेको सङ्ख्या सात लाख ९७ हजार ४४८ पुगेको छ। निको हुने दर ९७।७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
तीनको मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६९ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप तीन जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। अहिले यस रोगबाट हुने मृत्युदर १।४ प्रतिशत छ। त्यसैगरी पछिल्लो समय ९३ हजार ६९५ ले खोप लगाएको मन्त्रालयले जानकारी दिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार ४९८ रहेको छ। अहिले होम आइसोलेशनमा ६ हजार ९४५, संस्थागत आइसोलेशनमा ५५३, आइसीयुमा १९० र भेन्टिलेटरमा ५७ जनाले उपचार गराइरहेका छन्।