धनगढीका ८ सडकको मर्मत सुरू, पौने २ करोडमा ठेक्का सम्झौता
धनगढी : सुदूरपश्चिमको राजधानी धनगढीको मुख्य सडकसहित ८ सडक मर्मतको काम सुरु भएको छ। एक करोड ८२ लाखको लागतमा ८ सडकको १०.१६ किलोमिटर मर्मतको काम सुरु भएको हो। सडक बोर्ड नेपालको ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाको ३० प्रतिशत लागतमा सडक मर्मतको काम हुन लागेको हो।
धनगढी उपमहानगरपालिका र केएस मणिलेक टेडी जेभीबीच सडक मर्मतको लागि ठेक्का भएको छ। २०७८ पुस मसान्तमा सक्ने गरि गत असार १५ गते सम्झौता भएको धनगढी उपमहानगरपालिकाका इञ्जिनियर दिजराज भट्टले बताए। उनले भने, `सडकबोर्ड नेपालको ७० प्रतिशत र धनगढी उपमहानगरपालिकाको ३० प्रतिशतको लागतमा हरेक वर्ष आबधिक मर्मत गर्ने कार्य हुन्छ। सडकमा परेका खाल्टाखुल्टी टाल्ने तथा साँघुरा सडक फरककिलो बनाउने कार्यका लागि ठेक्का भएको हो।´
एउटै ठेक्कामा विभिन्न ८ सडक मर्मत भइरहेको केएस मणिलेक टेडी जेभीका प्रतिनिधि टेक पालले बताए। उनले अहिलेसम्म ३ प्याकेजको काम सकिएको बताए। अदालत रोडदेखि बसन्त टोलसम्मको एक किलोमिटर सडक मर्मतमा १२ लाख ४७ हजार ५८ रुपैयाँ, जिल्ला प्रहरीदेखि क्याम्पस चौक सडकको एक किलोमिटर सडक मर्मतमा ७४ लाख ५ हजार ९६६, त्रिवेणी सडक ६०० मिटरमा ११ लाख १ हजार ८५, वडा नम्बर १३ स्थित विमानस्थल जोड्ने २ किलोमिटर २०० मिटर सडकमा ४३ लाख २१ हजार ४८२, वडा नम्बर १३ कै लक्ष्मीनगर ५०० मिटर सडकमा ४ लाख ९३ हजार ४९३ रुपैयाँको ठेक्का भएको छ।
वडा नम्बर १३ कै राजपुर ८६० मिटर सडकमा ४ लाख ६१ हजार ५३९, वडा नम्बर ९ बङराको ३ किलोमिटर सडकमा २१ लाख ६८ हजार ८६७ र वडा नम्बर ५ को १ किलोमिटर रेडक्रस सडक मर्मतका लागि ९ लाख ९९ हजार ६८३ गरि जम्मा १ करोड ८१ लाख ९९ हजार १७६ को ठेक्का भएको छ।
अहिलेसम्म ६० लाख सम्मको ३५ प्रतिशत काम भइसकेको जनाइएको छ। अहिले विमानस्थल जोड्ने सडकसहित विभिन्न तीन सडक मर्मतको काम सकिएको दाबी पालको छ। उनका अनुसार अहिले धनगढीको मुख्य सडक जिल्ला प्रहरी कार्यालयदेखि क्याम्पस चोक जोड्ने सडक फराकिलो बनाउने काम हुँदै छ। अन्य सडकको पनि पुस महिनाभित्र सकिने उनले बताए।