सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली–कञ्चनपुरका 'पिकनिक स्पट'मा प्रहरीको निगरानी

२०७८ कार्तिक २२, ११:२३ कमल सावद

धनगढीः कैलाली–कञ्चनपुरमा वनभोज जाने क्रम सुरु भएको छ। दिउसीभैलोबाट सङ्कलन भएको रकमबाट बालबालिका तथा युवायुवतीहरु वनभोज जानेक्रम सुरु भएको हो। 

देउसीभैलो खेलेर उठेको रकमले दौतरीसँग वनभोज गएका बेला हरेक वर्ष विभिन्न दुर्घटना हुँदै आएका छन्। दुर्घटनाका कारण ज्यान समेत जाने गरेको छ। बालबालिकाहरु अभिभावक बिना नै वनभोज जाने गर्दछन्। उनीहरुलाई हुनसक्ने जोखिमको बारेमा जानकारी समेत नहुने भएकाले अभिभावकलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, प्रहरी उपरीक्षक विश्व अधिकारीले वनभोज क्षेत्रमा प्रहरीको गस्ती हुने बताए। उनले भने, ‘वनभोज जाँदा अप्रिय घटनाको जोखिम हुन्छ। हाम्रो गस्ती पनि हुन्छ। अभिभावकले पनि सचेत हुनुपर्छ।’

स–साना बालबालिकाहरु वनभोज जाने, ताल तलैया र नदीहरुमा नुहाउने गर्नाले डुबेर समेत ज्यान जाने खतरा हुन्छ।  सडक प्रयोग गर्दा समेत दुर्घटनामा पर्ने जोखिम हुने भन्दै सचेत रहन आग्रह गरिएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख बामदेव गौतमले ट्याक्टर, टिप्पर तथा मोटरसाइकलमा क्षमताभन्दा बढी यात्रु नबोक्न आग्रह गरेका छन्। ट्राफिक प्रहरीले पनि निगरानी राख्ने उनले आग्रह गरे। 

कैलाली–कञ्चनपुरमा वनभोज खान जाने ठाँउहरु भनेर तालको छेउ, नदी किनार र चुरे पहाडको फेदीका साथै भन्ज्याङ रोजाइमा पर्ने गरेका छन्। ती सबै ठाउँमा केही न केही जोखिम हुने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ। देउसी खेलेको रकम सामाजिक कार्यमा खर्च गर्ने परिपाटी रहेपनि पछिल्ला वर्षहरुमा वनभोज जाने चलन बढेको छ। त्यसैले वनभोज गएका बेला दौँतरीहरुबीच नै झै-झगडासहितका अन्य अपराधिक घटना हुने भएकोले पनि सावधानी अपनाउन आग्रह गरिएको हो। 

वनभोज जाँदा सवारीको प्रयोग गर्ने र सवारी दुर्घटनामा पर्ने, नदीमा डुब्ने, बलात्कारका घटना हुनसक्ने, झैझगडा हुने र अन्य जोखिमको समेत खतरा रहेकाले प्रहरीले अभिभावहरुलाई जिम्मेवार बन्न अग्रह गरेको छ। देउसीभैलोपछि, कैलालीका गोदावरी, चिसापानी, खानीडाँडा, घोडाघोडी ताल, टीकापुर पार्क, जखौर ताल, चुरे फेदीका विभिन्न ठाँउहरुसहित कञ्चनपुरको दोधारा चाँदनी र वेदकोट ताल लगायतका पर्यटकीय स्थानमा वनभोज जाने क्रम सुरु भएको छ। 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस