यातायात व्यवसायीका लागि चाडपर्व पैसा कमाउने दाउ, ‘क्यू फ्री’को नाममा मनोमानी भाडा
धनगढी : तिहारको समयमा ३ दिन सार्वजनिक सवारी साधन ‘क्यू फ्री’मा सञ्चालन भइरहेका छन्। चाडपर्वको अवसरमा दैनिक तालिका अनुसार सर्वाजनिक सवारी सञ्चालन गरिएको छैन। तर क्यू फ्रीमा सञ्चालित यातायातले मनोमानी भाडा असुल गर्दै आएका छन्। यातायात व्यवसायीले मनोमानी भाडा असुल गरेपनि स्थानीय प्रशासनले बेवास्ता गरेको गुनासो यात्रुहरुको छ।
३ सय पर्ने ठाउँमा ७ सयसम्म भाडा लिइरहको अत्तरिया बसपार्कमा भेटिएकी यात्रु डल्लु लम्सालले बताइन्। उनले भनिन्, ‘अत्तरियाबाट डोटीको बान्डुङ्ग्रीसैनको भाडा पहिले ३ सय मात्रै लिन्थे। अहिल ७÷८ सय भनिरहेका छन्।’ उनले पहिलेकै भाडादर होला भन्दै घरबाट पैसा पनि त्यसै अनुसार ल्याएको बताइन्। तर भाडा बढी माग्दा समस्या भएको उनी बताउँछिन्।
तिहारमा गन्तव्यमा पुग्नैपर्ने भएकाले जति रकम मागेपनि तिर्नुपर्ने बाध्यता रहेको यात्रुहरु बताउँछन्। यातायात व्यवसायीले चाडपर्वमा बढी दुःख दिँदै आएको गुनासो यात्रुहरुको छ। एकातिर भाडा बढी तिर्नुपर्ने बाध्यता छ, भने अर्कोतिर सिट नै नहुँदा कोचिएर यात्रा गर्नुपर्ने बाध्यता छ। २ जनाको सिटमा ५ जना यात्रु राख्ने गरेको अर्का यात्रु नरेन्द्रबहादुर बम बताउँछन्। ‘दुई जनाको सिटमा ५ जना यात्रुहरुलाई बसाउँछन्। पैसा कमाउने दाउमा चालकहरुले यात्रुहरुलाई दुःख दिने गर्छन्’ उनले भने।
यात्रुले बढी रकम तिर्दै आएको भएपनि स्थानीय प्रशासनले बेवास्ता गरेका छन्। क्यू फ्रीमा रहेका यातायातले बढी रकम लिएपनि प्रालिहरु पनि मूकदर्शक बनेका छन्। तर यता सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले भने बढी भाडा असुली गरेको भेटिए चालक र व्यवसायीमाथि कारबाही गर्ने बताउँछन्। उनले भने, ‘२ दिनसम्म हामीले क्यू फ्री गरेका छौँ। राज्यले तोकेको भन्दा बढी भाडा लिन पाइँदैन। बढी भाडा लिएको देखिए कारबाही हुन्छ।’
सुदूरपश्चिममा दसैँमा मात्रै १५ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। क्षमताभन्दा बढी यात्रु बोक्दा तथा चालकको लापरबाहीले दुर्घटना हुने गरको बताइएको छ। चाडपर्वमा सञ्चालनमा रहेका यातायात बढी दुर्घटना हुने जोखिम हुन्छ। यात्रुहरुको चाप बढी हुँदा दुर्घटना हुने गरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंह बताउँछन्।
‘पहाड जाने राजमार्ग पनि ठाउँ–ठाउँमा भत्केको छ। त्यसमा गाडीको चाप बढी हुँदा र चालकको लापरबाहीले पनि दुर्घटना हुने गरेका छन्’ उनले भने, ‘हामीले ठाउँ–ठाउँमा ट्राफिक प्रहरी खटाएका छौँ। क्षमताभन्दा बढी यात्रु बोक्न दिन्नौं।’