...अनि लक्ष्मी पूजाकै दिन काम खोज्न धनगढीबाट डोटी हिँडे फिरबहादुर
धनगढी: हिजो(बिहीबार)तिहारको तेस्रो दिन, लक्ष्मीपूजा। सबैको घर आँगन झिलीमिली भएको थियो। घरमा लक्ष्मी भित्र्याउन सबै आ–आफ्नो सुरमा थिए। तिहारले यो धनगढी सहरको चहलपहल बेग्लै तरिकाले बढेको छ। तर सहरकै एक किसान लक्ष्मी पूजाकै दिन घर छोड्नुपर्ने अवस्थामा आए। वर्षाका कारण क्षति व्यहोरेका उनी अहिले ठूलो मर्कामा छन्।
धनगढीको फुलबारीका फिरबहादुर चौधरी हिजो नै रोजगारी खोज्दै डोटी गइरहेका थिए। ३ सय रुपैयाँमा गन्तव्यमा पुगिनुपर्नेमा उनीसँग ७ सय बढी भाडा लिइएको थियो। आफूसँग भएको खर्च भाडा तिरेर उनी ५ सयको नोट बोकेर पहाड गइरहेका थिए। उनी निराश अवस्थामा गाडीको प्रतिक्षा थिए। उनलाई धान खेतीमा भएको नोक्सानीको पिर थियो। वर्षभरी परिवारको कसरी गुजारा चलाउने भन्नेमा उनी चिन्तित देखिन्थे। ‘के गर्नु, खेत सबै बगायो। तिहारको त के कुरा गर्नु झिलीमिलि त आँखाले देखिरहेको छ। मनमा परिवारको चिन्ताले सताइरहेको छ। भित्रि मन रुवाएर हाँस्नु परिरहेको छ’ उनले भने। २ बिघामा लगाएको सबै धान वर्षाले सखाप पारेको उनी बताउँछन्।
‘गहुँ लगाउन पनि समय लाग्छ। खेतको पानी अझै सुकेको छैन। आजैका दिन घर छोड्ने मन त कसलाई थियो र बाध्यता हो’, गहभरी आँसु पार्दै उनले भने, ‘केटाकेटी अर्काको झिलिमिली हेरर रमाएको देख्न सकिएन।’ परिवारका नजिक बस्दा दुख हेर्न नसकिने भएकाले टाढाबाटै हालखबर सोध्न उचित रहेको उनी बताउँछन्।
‘पुरानो धान सकियो। केही घरभित्र बाढी पसेर खराब भयो। के गरेर तिहार मनाउनु। इष्टमित्र दिदीबहिनी आउलान्। उनीहरुलाई के खुवाउने ? त्यो भन्दा त मुख लुकाकै जाति’ उनले भावुक हुँदै भने। क्षति व्यहोरेका चौधरीले सरकारबाट कुनै राहत समेत पाएनन्। अहिलेसम्म स्थानीय तहहरुले तथ्यांक नै संकलन गर्न सकेका छैनन्। उनी भन्छन्, ‘सरकार परेको बेला हेर्दैन त्यसको के काम। नेताहरुलाई भोट चाहिएको बेला खुट्टै ढोग्न आउँछन्। हाम्रा दुःख उनीहरुका लागि दसैँ बन्छ।’
तिहारको समयमा पनि क्षति भएका किसानलाई सानो राहत पनि दिन नसक्नु तिनै तहका सरकारका लागि लज्जास्पद भएको उनी बताउँछन्। कार्तिक पहिलो साता आएको वर्षाका कारण सुदूरपश्चिमका किसानहरुले ठूलो क्षति व्यहोरेका छन्।